विश्वकप क्रिकेट लिग–२ : नेपाल ओमानसँग पाँच विकेटले पराजित


काठमाडौँ: आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाएर १९६ रन मात्र बनाउन सक्यो । एक सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१ दशमलव एक ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो ।

जतिन्दर सिंहको शतकमा ओमानले नेपाललाई सहजै पराजित गर्न सकेको हो । सिंहले उत्कृष्ट खेल प्रदर्शन गर्नुभयो । उहाँले ६२ बल खेल्दै १०७ रन बनाउनुभयो । प्लेयर अफ दी म्याच हुनुभएका उहाँले छ छक्का र १२ चौका प्रहार गर्नुभयो । यस्तै मोहमद नदिमले अविजित ३८, सुरज कुमारले २० र आयन खानले १८ रनको योगदान दिनुभयो । बलिङतर्फ नेपालका कुशल मल्ल र करन केसीले दुई÷दुई तथा सुशन भारीले एक विकेट लिनुभयो ।

त्यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा आशिफ शेखले ९० रनको योगदान दिनुभएको थियो । उहाँले ११२ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गर्नुभयो । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २१, करन केसीले २१, रोहितकुमार पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाउनुभयो । बलिङतर्फ ओमानका बिलाल खानले चार, नेस्टोर धम्बाले दुई तथा जेशन मसुद र मोहमद नदिमले एक÷एक विकेट लिनुभयो ।

जितसँगै ओमान लिगको शीर्षस्थानमा कायमै रहेको छ । ओमान ११ खेलमा नौमा जित तथा दुईमा हारका साथ १८ अङ्कसहित शीर्षस्थानमा छ । नेपाल भने हालसम्म खेलेका छ खेलमध्ये तीनमा जित तथा तीनमा हारका साथ आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

आइसिसी विश्वकप लिग–२ खेलिरहेको अमेरिका १३ खेलमा छ मा जित र सातमा हारसहित १२ अङ्क जोड्दै दोस्रो, स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारसहित नौ अङ्कसहित तेस्रो, नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो, युनाइटेड अरब इमिरेटस्
(युएई) सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ तथा पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजयका साथ अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ ।

लिग–२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् । नेपालले अब शुक्रबार अर्को खेल अमेरिकासँग छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?