गणेशमानका बिचारलाई पनि माल्यार्पण गरियोस


आज देशले गणेशमान सिंहलाई फेरि स्मरण गरिदैछ । यो स्तम्भकार र गणेशमान सिंहबीच  एक पत्रकारको नाताले धेरै त्यस्ता ऐतिहासिक दस्ताबेज छन जुन दस्ताबेजमा उहां एशियाको एउटा सानो देशमा जन्मेको तर बिशाल छाती भएको नेता देखिनुभएको छ । उहां एक राजनेतामात्र होइन ,एउटा बिचारधारा हो यो कुरा धेरैले बुझेनन । आज गणेशमान सिंहलाई बुझ्ने काम उनकै अनुयायीले त गरेका छैनन् भने अरूले गरेनन् भनेर गुनासो गर्नुको कुनै अर्थ पनि छैन किनकी त्यस्तो नेता दुनियाका राजनीतिक दलले केबल भाग्यले प्राप्त गर्दछन । गणेशमान आजका दिनमा नेपाली समाजका लागि एउटा व्यक्ति होइन विचार हो । तर यो विचारलाई बुझ्ने कुरामा नेपाली समाजको चेतना गणेशमान सिंहको भावनाअनुसार थिएन जसको केही फाइदा नेपाली माओबादीहरुले कथित हिंसात्मक आन्दोलनको नाममा उठाए । इतिहासको पानामा सुनौलो अक्षर लेखेको गणेशमान कुनै एक व्यक्ति थिएन त्यो त   सामाजिक विचार थियो तर त्यसलाई गणेशमानको अनुयायीले बिचारको रुपमा बुझेनन् । गणेशमान बिचारधारा जहाँ आजको समाजलाई कता लैजाने भन्ने बैचारिक चिन्तन रोपिएको थियो । प्रधानमन्त्रीको पद त्याग गर्दा , त्यहाँ गणेशमान सिंहको न कुनै लोभ छ न कुनै जात छ न कुनै क्षेत्र छ न कुनै दुश्मन छ न कुनै आफनो मान्छे र सीमित क्षेत्र छ त्यहाँ त केबल अग्रगमनको चिन्तनमात्र छ त्यो पनि लोकतन्त्र र मानवअधिकारको सुन्दर बाटोबाट । गणेशमानले बुझेको नेपालमा आजको समाजको पीडाबोध थियो, नेपालमा रहेका सबै जातजातिको भावना पनि थियो जुन विचारले एउटा समावेशी चिन्तनको लामो बहस खोजेको थियो त्यहाँ सबै नेपाल अटाउन सक्छ गणेशमान केबल एक दुई जात र एक दुई क्षेत्रको मात्र नेपाल बुझेका नेता थिएनन् उनी देश र जनता बुझेका नेता थिए उनले समाबेशीको कुरा उठाउदा गणेशमानलाई गनगने बुढाको गनगन भन्नेहरु आज कहां छन ?। तर, गणेशमानको विचारलाई नेपालको सत्तामा निरन्तर रहने अभ्यास गरेको एउटा एलिट वर्ग र समाजले बुझ्न चाहेन, त्यो इतिहासको तीतो यर्थाथ पनि हो । के आज गणेशमान सिंह शताब्दी समारोह समाप्त गरेर अगाडि बढिरहदा नेपाली जनताले गणेशमान सिंहलाई मन, वचन र कर्मले बुझेका छन् त
यो भने गणेशमान विचारका अनुयायीलाई समयले सोधेको प्रश्न हो । के गणेशमानले कल्पना गरेको नेपालको पक्षमा आज उनका अनुयायी लागेका छन् त ? यो आजको समयले सबैसँग जवाफ मागेको हो । पछिल्लो दिनमा देखिएको जनचेतना र गणेशमासिहको हिजोको चिन्ताले त गणेशमान विचारका कारणले अझ अमर भएका छन् किनकी उनले कल्पना गरेको नेपाल केबल एक दुइ जातको नेपाल मात्र थिएन सबे नेपाली जनताको नेपाल थियो त्यो नै नेपाली राष्टिय एकताकोे आधार हो यो बुझन नेपालले समय लगायो । राजाको अधिकार खोसेर पञ्चायती ब्यबस्था ढालेर उनको समयमा संविधान जारी गर्दा ७५ औं नागरिकको हत्या भएको थिएन जुन पछिल्लो समयमा भएको छ, यति बुझेपछि गणेशमान बुझ्न धेरैलाई कठिन हुने छैन ।
आज वामपन्थीले गणेशमानलाई नसम्झेकोमा कसैले आश्चर्य मान्ने कुरा होइन किनकि नेपाली वामपन्थीको उद्गम नै प्रजातन्त्रवादीहरूलाई अराष्ट्रिय तत्व भनाउने राणाहरुकोे भारदारी मोडेलमा भएको थियो । यद्दपि यो भारदारी मोडेलमा सबै कम्युनिष्ट नफसेको होलान् त्यो अर्को पाटो हो । तर गणेशमान सिंहले नेपाली राजनीतिमा कहिलै पनि कुखुराको जस्तो छाती देखाउनु भएन । उहांंले ठूलो छाती देखाएका कारण २०४२ सालको सत्यग्रह होस वा २०४६ सालको जन आन्दोलन होस त्यसमा गणेशमान सिंहका कारण नेपाली बामपन्थी कम्युनिष्टहरुले पनि भाग लिने मौका पाएका थिए । यो उनीहरुका लागि अभयदान साबित भएको छ इतिहासको पाटोमा । त्यो मात्र होइन तितर बितर भएका नेपाली कम्युनिष्टहरुलाई पनि गणेशमान सिंहले नेपाली कागै्रससंग बाममोर्चाको रुपमा रुपान्तरित हुन प्रोत्सहान गर्नु भएको थियो । त्यो एक प्रजातन्त्रबादी नेताको बिशाल छाती भएका कारण सम्भव भएको थियो ।उहांले बामपन्थीहरुलाई एक बनाउदा त्यसले आफनो पार्टी नेपाली काग्रेसलाई उनीहरुले चुनौति दिन सक्छन कि भनेर चिन्ता गर्नु भएन त्यो राजनेताको छबि उहांमा थियो यो अदभूत हो । गणेशमान सिंहको ठूलो र उदार छातीका कारण नेपाली कम्युनिष्टहरुले पहिलो पटक प्रजातन्त्र स्थापनाको लागि नेपाली काग्रेसलाई गाली नगरिकन जेल जाने मौका पाएका थिए त्यो नै उनीहरुकालागि एउटा राजनीतिक अभयदान साबित भएको छ आजको दिनमा नत्र दुनियामा कुनै कम्युनिष्टले प्रजातन्त्रको लागि लडेको दाबी गने अबसर बिरलै पाउंछन तर उनीहरुले नेपालमा पाए र आज पनि उनीहरुले त्यो गौरव गरिरहेका छन ब्यालेटबाट सत्तामा पुगेर चाहे बहुदलीय जनाबादको रामनाम जपेर नै किन नपुगुन । विचारका कारणले भने प्रजातन्त्रवादीले गणेशमान बिर्सनुलाई स्वाभाविक मान्न सकिँदैन । आर्थिक क्षेत्रमा होस् वा सामाजिक क्षेत्रमा नेपालको पत्रकारितामा होस् वा राजनीतिमा आज देशको चेतनाअगाडि बढ्नुका पछाडि गणेशमान सिंह लगायतका नेताको भूमिका रहेको छ । नेपालको इतिहासमा नेपाली पत्रकारिताले नयाँ युगमा प्रवेश गरेको ०४६ सालको ऐतिहासिक जन आन्दोलन थियो, तर नेपाली पत्रकारिताले समेत त्यो इतिहासलाई गौरवपूर्ण रूपमा स्मरण गरिरहेको छैन योभन्दा हास्यास्पद कुरा के हुन सक्छ ? आज असल मानिसको इतिहास हामीले अवमूल्यन गरी नै रहेका अवस्थामा भोलि नयाँ पुस्ताले पनि आजका असल मानिसको स्मरण गर्दैन । तर, हामीले हाम्रा नेतालाई आजको नयाँँ पुस्तामा कसरी लैजाने भन्ने कुरामा बहस गरिरहेका छैनौँ । समाज परिवर्तनको इतिहासमा त्यसलाई नेतृत्व दिने नायकबारे आजको पुस्ताले स्मरण गर्न सकेन भने भोलि त्यो पुस्ताले देशलाई नै भुल्न सक्छ । भोलि गणेशमानलाई स्मरण कुन रूपमा गर्ने नेपाली समाजले ? यो बहस हाम्राबीच जारी रहनुपर्छ । नेपाली राजनीतिको अहिलेको सबैभन्दा फोहोरी खेल के हो भने कुर्सीका लागि आफ्नो सिद्धान्त र विचारलाई जताततै सीधै नांगो बलि चढाइएको छ । पछिल्लो दिनमा , गणेशमान सिंहले जन्माएको कांग्रेस पार्टीका नेता तथा कार्यकर्तादेखि लिएर अन्य पार्टीका नेता तथा कार्यकर्ताले गणेशमान सिंहबाट धेरै कुरा सिक्नुपर्ने हुन्छ, राजनीतिक पात्रका रूपमा । तर उनीहरूको मनभित्र गणेशमान विचार छैन उनीहरूभित्र केबल सत्तालाई कसरी प्राप्त गर्ने भन्ने विचार छ जुन बैचारिक पतनको मार्ग हो यो यात्रा भनेको टिकट बिना रेलको यात्रा गर्नु जस्तै हो । गणेशमान सिंहले प्रधानमन्त्री पद त्याग गरेर नेपाली जनताको छोरोले इतिहास रचेको बिर्सेर सत्ताको रोडम्यापमा रमाउन नपाएकोमा रुवाबासी गरिरहेका छन नेपाली काग्रेसका नेताहरुलाई पनि समयमै सदबुद्धि आओस । प्रतिपक्ष पनि लोकतन्त्रको सुन्दर गहना हो बिपक्ष बिना लोकतन्त्र रुपी देश सुन्दर हुन सक्दैन यो कुरा पनि आजको दिनमा सबैले बुझनु पर्छ र झन सत्तामा रहेको बेला नेपाली काग्रेसले बुझनु पर्छ त्यो पनि गणेशमान सिहले जन्माएको पार्टीले ।
गणेशमान सिंह आजको दिनमा इतिहासका सम्मानित पात्र हुन् । तर, हामीले हाम्रा नेतालाई आजको नयाँँ पुस्तामा कसरी लैजाने भन्ने कुरामा बहस गरिरहेका छैनौँ जुन आजको ठूलो कमजोरी पनि हो । यो इतिहासले हामीलाई छाडेको दयित्व पनि हो । समाज परिवर्तनको इतिहासमा त्यसलाई नेतृत्व दिने नायकबारे आजको पुस्ताले स्मरण गर्न सकेन भने भोलि त्यो पुस्ताले देशलाई नै भुल्न सक्छ । जब समाजले देशका नायकलाई भुल्न थालिन्छ त्यति बेला देशको इतिहास पनि बेचिन्छ इतिहास बेच्नेहरूले देश पनि बाकी राख्दैनन र देश बनाउने नारा केबल आडम्बर मात्र हुनेछ । एउटा युवाको जमातले बुझ्नु पर्ने कुरा के हो भने गणेशमान सिंह सबै नेपाली नागरिकका नायक थिए उनी सबै क्षेत्र र जातका नेता थिए यो नै उनको भयानक परिचय हो । आज २४औ स्मृति दिबसमा महानायक गणेशमान सिंहको तश्वीरमा माल्यार्पण मज्जाले गरियोस तर उहांको बिचारलाई मन र कर्मले मल्यार्पण गर्न नभुलियोस ।  Editorial abpnepal.com – [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?