दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द


विनोद सिंह विष्ट
बैतडी: दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ । जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो ।

जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, विशालपुर, सिद्धेश्वर, शर्माली, हाट, रिम, कोटपेटरा र गिरेगडा स्वास्थ्यचौकीमा सेवा उपलब्ध रहेको छ । तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावमा बाँकी संस्थामा सेवा बन्द रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिसप्रसाद भट्टले जानकारी दिनुभयो । हाल जिल्लाका नौ सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सञ्चालनमा रहेको छ । उहाँले भन्नुभयो, “गएको दुई वर्षदेखि १५ स्थानबाट सुरक्षित गर्भपतन सेवा बन्द छ, कर्मचारी समायोजनपछि यहाँ रहेका तालिमप्राप्त दक्ष जनशक्ति बाहिर गएपछि समस्या भएको हो । ”

हाल सेवा बन्द रहेका १५ वटा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि पहल भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थाका लागि, प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरेका छौँ ।” सूचीकृत संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी नहँुदा अन्य ठाउँमा गएर असुरक्षित गर्भपतन गराउनाले जोखिम बढ्दै गएको छ ।

सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएका केही स्वास्थ्य संस्थाबाट सो सेवा बन्द भएपछि असुरक्षित गर्भपतन गराउने जोखिम बढ्दै गएको हो । जथाभावी मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताउनुभयो । “असुरक्षित गर्भपतनले ज्यान जोखिम पर्नुका साथै स्वास्थ्यमा पनि गम्भीर असर पार्दछ, गर्भपतन गराउँदा सुरक्षितरुपमा नै गराउनुपर्दछ । ”

यसैबीच सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा बन्द भएपछि पछिल्लो समय बैतडीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालय बैतडीको गएको तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको पाइएको हो । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा ७७७, ७६÷७७ मा ५८१ र ७७÷७८ मा ५६५ ले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तीमध्ये सुरक्षित गर्भपतन गराउनेमा ५५ जना २० वर्षमुनिका रहेका बताइएको छ । जिल्लामा आव २०७५÷७६ मा २४, आव २०७६/७७ मा २० र गत आवमा ११ जना २० वर्षमुनिकाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

सुरक्षित गर्भपतन सेवा दिने स्थान घटेका, परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षित गर्नपतनको सेवा दिने संस्था घटेकाले र परिवार नियोजनको सेवा लिने बढेकाले सुरक्षित गर्भपतन गराउने घटेका हुनसक्छन्, ।” तराईतिर गर्भपतन गराउनेको सङ्ख्या बढेको देखिएकाले तराईमा गएर पनि सुरक्षितरुपमा गर्भपतन गराएको हुनसक्ने स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?