नवनियुक्त मुख्यमन्त्री राईको पहिलो मन्त्रिपरिषद् बैठक


 

 

मोरङ, १६ कात्तिक (रासस) ःप्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई सरकारको आज साँझ बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्ति खारेजीको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले मुख्यमन्त्रीमा आचार्यको नियुक्ति नै संविधानसम्मत नभएकाले त्यसयता भएका सबै निर्णय पुनरावलोकन गरी खारेज गर्ने प्रक्रियामा लैजाने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो । बैठकले प्रदेशका १३७ स्थानीय तहका विपन्न, दलित, अल्पसङ्ख्यक र सीमान्तकृत समुदायमध्येबाट एक÷एक जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने निर्णय गरेको छ । यस्तै बैठकले लोपोन्मुख संस्कृति संरक्षणका लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेको मन्त्री आङ्बोले बताउनुभयो ।

प्रदेश नं १ मा तीन वर्ष नौ महिनाको अवधिमा आज तेस्रो मुख्यमन्त्रीका रूपमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्रकुमार राईले पद तथा गोपनीयताको शपथ लिनुभयो । यसअघि प्रदेशमा पहिलो मुख्यमन्त्रीका रूपमा नेकपा एमाले संसदीय दलका नेता शेरधन राई र उहाँले राजीनामा दिएपछि दोस्रो मुख्यमन्त्रीका रूपमा नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले गएको भदौ १० गते मुख्यमन्त्री पदको शपथ लिनुभएको थियो । आचार्यले विश्वासको मत लिनसक्ने अवस्था नरहेपछि हिजै राजीनामा दिएपछि मुख्यमन्त्री बन्नुभएको राजेन्द्र राई नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको साथ तथा सहयोगबाट मुख्यमन्त्री बन्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री राईको जन्म विसं २०२७ असार १५ मा भोजपुरको किमलुङ गाविस हाल षडानन्द नगरपालिका–१० सुर्केमा भएको थियो । बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईका चार सन्तानमध्ये कान्छा सदस्य उहाँले विद्यालय तहबाटै अनेरास्ववियुमार्फत राजनीतिक यात्रा सुरु गर्नुभएको हो । विद्यालयको अखिल एकाइ सचिवबाट सुरु गर्नुभएको राजनीतिक यात्रा त्यही सङ्गठनको राष्ट्रिय अध्यक्ष हुँदै प्रदेश १ को मुख्यमन्त्रीसम्म हुनुभएको छ । विसं २०४३ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उहाँले लगातार रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौँमा पढेर त्यहीँबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर गर्नुभएको छ । एमाले अखिलको केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै उहाँ पहिलोपटक २०५७ सालमा अखिल अध्यक्ष बन्नुभएको थियो । उहाँ दुई कार्यकाल लगातार अध्यक्ष हुनुभएको थियो । लामो समय अखिल राजनीतिमा सक्रिय उहाँले पहिलोपटक २०६८ मा पार्टी केन्द्रीय सदस्यमा मनोनीत भएर पार्टीमा सक्रियता बढाउँदै लैजानुभयो । उहाँ विसं २०७१ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गर्दै उहाँ २०७४ को प्रदेशसभा निर्वाचनमा भोजपुरबाट निर्वाचित हुनुभएको थियो । पञ्चायतकालमा सात महिना केन्द्रीय कारागारमा बन्दी जीवन बिताउनुभएका उहाँले शाहीकालमा पनि चार महिना प्रहरी तालिम केन्द्रमा बन्दी जीवन बिताउनुभएको थियो । माओवादी द्वन्द्वकालमा २०६० सालमा माओवादीले भोजपुरको घरबाटै अपहरणमा परी एक सातासम्म माओवादी कब्जामा रहनुभएको थियो ।

 

 

प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण सरकारको पहिलो प्राथमिकता हुने बताउनुभएको छ । मुख्यमन्त्री पदको शपथ ग्रहण समारोहपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले प्रदेशको नामकरण अहिलेसम्म हुने नसकेकाले यो वर्तमान सरकारको पहिलो प्राथमिकता रहने छ भन्नुभयो । मुख्यमन्त्री राईले यही कात्तिक २५ गतेभित्र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी पनि दिनुभयो । उहाँले सरकार सञ्चालनका लागि गठबन्धन दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरिने जानकारी दिदैं गठबन्धन दलबीच छलफल पछि पुनः बजेट ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले विकासका कामलाई प्राथमिकता दिन योजना छनोटमा प्रदेश सदस्यको महत्वपूर्ण भूमिका हुनेछ भन्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?