हुन थाले मेला, उत्सव


बागलुङ : कोरोना सङ्क्रमण मत्थर भएसँगै जनजीवन सामान्यतिर उन्मुख छ । महामारीले रोकिएका मेला, पर्वलगायत मनोरञ्जन गतिविधि पनि पहिलेझैँ हुन थालेका छन् । झट्ट हेर्दा कोरोना पूरै थामिएको भान मिल्छ । यसपालि चाडबाडमा पनि केही रौनक छायो ।

दुई वर्षपछि देउसी, भैलो गुञ्जिए । मानिसको आउजाउ बढ्यो । कोरोना सङ्क्रमण फैलिएपछि यसअघि भीडभाडजन्य क्रियाकलापमा बन्देज लागेको थियो । मेला, महोत्सवको आयोजना त झन टाढाको कुरा भयो । अहिले सङ्क्रमणदर न्यून रहेको र कोरोनाविरुद्ध खोपको पहुँच पनि बढ्दै गएकाले सार्वजनिक समारोह, मेला, उत्सव भइरहेका हुन् ।

दसैँ, तिहारको मौकामा सहरी क्षेत्रमा साङ्गीतिक कार्यक्रमसमेत आयोजना गरिए । कला, संस्कृति, खेल र व्यापारको जगेर्नाका लागि गाउँघरमा हुने मेला, उत्सवले आर्थिक गतिविधि बढाउँछन् । स्थानीय अर्थतन्त्र चलायमान बन्छ । मानिसले खेलकुद तथा मनोरञ्जनको सुविधा भोग गर्न पाउँछन् । ताराखोला गाउँपालिका–४ को नवसिर्जना युवा क्लबले आफ्नो वार्षिकोत्सव विविध खेल तथा सांस्कृतिक कार्यक्रम गरी मनाइरहेको छ । गत वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण वार्षिकोत्सव नमनाइए पनि यो वर्ष स्थिति केही सहज भएकाले कार्यक्रम गरिएको क्लबका अध्यक्ष पूर्णभद्र निउरेले बताउनुभयो ।

“विगत १८ वर्षदेखि मेलाकै रुपमा क्लबको वार्षिकोत्सव मनाउँदै आएका छौँ, गत वर्ष कोरोनाका कारण कार्यक्रम रोकिन पुग्यो, अब निरन्तर हुन्छ”, उहाँले भन्नुभयो । गत आइतबारदेखि सुरु भएको कार्यक्रममा खुला वडास्तरीय भलिबल, सामूहिक लोकनृत्य, धनुषवाणलगायतका प्रतियोगिता राखिएको छ । कार्यक्रम आजसम्म चल्नेछ ।

तारोखाला–३ घुस्मेलीको परम्परागत हरिबोधनी एकादशी मेला पनि शुक्रबारदेखि सुरु हुँदैछ । त्रिशूली युवा क्लबले आयोजना गर्ने मेलामा खुला वडास्तरीय भलिबल, सामूहिक नृत्य, ‘स्लो बाइक रेस’लगायत प्रतियोगितात्मक कार्यक्रम हुनेछन् । मेलामा कलाकारको साङ्गीतिक प्रस्तुति पनि रहने क्लबले जनाएको छ ।

हरिबोधनी एकादशीका दिन बाजा र भजनसहित त्रिशूली खोलामा ३६५ हात लामो तोरण टाँगेर मेला समापन हुन्छ । धेरै वर्षअघिदेखि घुस्मेलीमा सो मेला लाग्दै आएको छ । टाढाटाढाबाट मानिस मेला हेर्न त्यहाँ आउँछन् । कोरानाले गर्दा दुई वर्षपछि एकादशी मेला आयोजना हुन लागेको हो । ताराखोला–२ अर्गलमा मनाइने ऐतिहासिक भुस पोल्ने पर्व पनि बुधबारदेखि सुरु भएको छ । बर्सेनि कात्तिक २४ गतेदेखि २६ गतेसम्म यो पर्व मनाइन्छ । पर्वको मुख्य दिन २६ गते गाउँपालिकाभर सार्वजनिक बिदासमेत दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । सदियौँअघि पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी अर्गल गाउँमा आएका मगरले उक्त पर्वको चलन बसालेका हुन् ।

मगरका पुर्खाले खोरिया खनी थातथलो बसाएको र खेती सुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिन्छ । मकै बाली भित्र्याएपछि बारीमा रहेका डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भनिन्छ । त्यस पर्वमा अवसरमा खेलकुदसँगै सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुन्छ ।

ताराखोलाको रैथाने मगर समुदायले विशेष महत्वका साथ भुस पोल्ने पर्व मनाउने गर्छ । जिल्लाका अन्य ठाउँ विशेषमा पनि मेला, पर्वको आयोजना गरिएको छ । बुर्तिबाङको राइजिङ युवा क्लबले पनि ढोरपाटन नगरपालिकासँग मिलेर गत बडादसैँपछि ढोरपाटन मेयर रनिङ गोल्ड कप तथा कोजाग्रत पूर्णिमा मेला आयोजना गरेको थियो ।

महामारी कम भएकाले क्लबले यस वर्ष मेलालाई निरन्तरता दिएको हो । गत वर्ष उक्त मेला प्रभावित बनेको थियो । मेला, पर्व राखिए पनि ठूलो स्तरका महोत्सव अहिलेसम्म भएका छैनन् । जनस्वास्थ्यकर्मीले भने कोरोनाको जोखिम कामयै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न नहिच्किचाउन सचेत गराउँदै आएका छन् । स्थानीय प्रशासनले पनि भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरे पनि घरगाउँमा हुने मेला, पर्व र उत्सवलाई कडाइपूर्वक रोक लगाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?