अष्ट्रियामा खोप नलगाएका नागरिक केन्द्रित राष्ट्रव्यापी लकडाउन


बर्लिन: अष्ट्रियाली सरकारले देशमा कोरोनाभाइरसको द्रुत फैलावटलाई नियन्त्रण गर्ने उद्देश्यले आइतबार मध्यरातदेखि खोप नलगाएका व्यक्तिहरूका लागि राष्ट्रव्यापी लकडाउन आदेश जारी गरेको छ ।

यस घोषणाले १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधिहरू बाहेकका काममा आफ्नो घर छोड्न निषेध गरेको छ ।

सरकारी अधिकारीहरू कोभिड–१९ सङ्क्रमणबाट बढ्दो मृत्यु बारेमा चिन्ता व्यक्त गर्दै यस्तै अवस्था बिग्रिँदै गए यहाँका अस्पतालहरूले सङ्क्रमितको उपचार गर्न कठिन हुने बताएका छन् ।

“जनताको सुरक्षा गर्नु अष्ट्रियाको सरकारको रूपमा हाम्रो काम हो,” चान्सलर अलेक्ज्याण्डर शालेनबर्गले आइतबार भियनामा पत्रकारहरूसँग भन्नुभएको छ, “त्यसैले सोमबारदेखि … खोप नभएकाहरूका लागि लकडाउन हुनेछ ।”

करिब ९० लाख जनसङ्ख्या भएको अल्पाइन देशमा लकडाउनले लगभग बीस लाख मानिसहरूलाई असर गरेको छ । लकडाउन सुरुमा १० दिनसम्म रहने छ । यसबीचमा प्रहरीहरूले नागरिकहरूले खोप लगाए नलगाएको सुनिश्चित गर्न गस्तीमा जानेछन् ।

खोप नलगाएका व्यक्तिहरूले प्रतिबन्धहरूको पालना नगरेमा १,४५० युरो (४१,६६०) सम्म जरिवाना गर्न सकिने छ ।

अष्ट्रिया पश्चिमी युरोपमा सबैभन्दा कम खोप लगाइएका मध्ये एक देश हो । यहाँ कूल जनसङ्ख्याको लगभग ६५ प्रतिशतमा मात्र पूर्णरूपमा खोप लगाइएको छ । पछिल्लो समय बढ्दो सङ्क्रमणले चिन्ताजनक अवस्था सृजना गरेको छ । यसैबीच आइतबार ११,५५२ सङ्क्रमणका नयाँ बिरामीहरू भेटिएका छन् । रासस/एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?