छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु


रसुवा : पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मङ्गलबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको हो ।

प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार राजमार्गमा हिँडिरहेको अवस्थामा उनलाई काठमाडौँबाट धुञ्चेतर्फ आउँदै गरेको ना१ज ६१७६ नंको यात्रुबाहक टाटासुमोले ठक्कर दिएको थियो । गोसाइँकुण्ड गापा–६ का ३० वर्षीया उर्जा घले र आठ वर्षीय करण धले सुमोको ठक्करबाट गम्भीर घाइते भएका छन् । उनीहरूको काठमाडौँको धापासीस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
पैदलयात्रीलाई ठक्कर दिइ जिप राजमार्गभन्दा करिब ५० मिटर तल खसेको थियो । जिपमा चार जना सवार थिए । आमाछोदिङ्मो गापा–५ ब्राजमका जिप चालक ३० वर्षीय छिरिङदोर्जे तामाङ र वडा नं २ ग्रेगाउँका ३१ वर्षीय निमादोर्जे तामाङको नुवाकोटस्थित त्रिशूली आस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पुलबाट खसेर साइकलयात्रीको मृत्यु
नवलपुर: पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मङ्गलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गर्दा कुमाल साइकलसहित खोलामा खसेका थिए । उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?