दोर्दी करिडोरका जलविद्युत आयोजना छिटो सम्पन्न गर्न ऊर्जा मन्त्रीको निर्देशन


रमेश लम्साल
काठमाडौँ: हाइड्रो हवका रुपमा स्थापित भएको लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको अवस्थाका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थलगत निरीक्षण गर्नुभएको छ ।

करिडोरमा आधादर्जन बढी जलविद्युत् आयोजना निर्माणका क्रममा छन्, भने सोही सङ्ख्याका आयोजना निर्माणमा जाने तयारीमा छन् । केही आयोजना हाल सञ्चालनमा छन् । प्राधिकरणले निर्माणाधीन सवस्टेशन र प्रसारण लाइन निर्माणलाई ताकेता गरिरहेको भए पनि निर्माणमा खासै प्रगति हुनसकेको छैन । निजी जलविद्युत् आयोजनाका प्रवद्र्धकले शीघ्रताशीघ्र आयोजनाको काम सम्पन्न गरिदिन आग्रह गरेपनि अपेक्षित प्रगति हुनसकेको छैन ।

निजी प्रवद्र्धकले पटक–पटक गरेको आग्रह अनुसार काम नभएपछि मन्त्री भुसालले स्थलगत निरीक्षण गरी तत्काल काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो । उहाँले आयोजनाको काममा ढिलाइ गर्न नहुने जनाउँदै एक युनिट पनि बिजुली खेर नजाने गरी काम गर्न निर्देशन दिनुभयो ।

उहाँले सरकार ऊर्जा क्षेत्रको विकास र विस्तारमा लागिपरेको र खपत बढाउने योजनालाई पनि तीव्रताका साथ अगाडि बढाइएको जानकारी दिनुभयो । सो करिडोरमा पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा छन् ।

त्यस्तै, दोर्दीखोला जलविद्युत् कम्पनीको १२.१ मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना दोर्दी करिडोरमा निर्माणाधीन छन् । तीमध्ये अधिकांशको ५५ देखि ९० प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि दुई मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको बताइएको छ । उक्त निर्माणाधीन आयोजना निजी क्षेत्र र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको छ । ती आयोजना निर्माण सम्पन्नपछि १२५ मेगावाट बिजुली उत्पादन हुनेछ ।

दोर्दी खोलामा हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दी खोला र लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को निर्माण सकिन लागेको छ । ती आयोजनाको निर्माण ९० प्रतिशतभन्दा बढी निर्माणकार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । गत एक वर्षदेखि आयोजनाको निर्माणकार्य सुरु भएको हो । दोर्दी करिडोरकै सबैभन्दा ठूलो क्षमताको पिपुल्स हाइड्रोपावरले निर्माण गरेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’को ५५ प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीद्वारा निर्माणाधीन १२.१ मेगावाटको दोर्दी–१ को निर्माणकार्य ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको आयोजनाले जनाएको छ ।

करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरले सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजना कूल रु आठ अर्ब ८० करोड लागतमा निर्माण भइरहेको छ । उक्त आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको २७ करोड लगानी छ ।

दोर्दी खोला जलविद्युत् आयोजना रु तीन अर्ब ८६ करोड लगानीमा निर्माणाधीन छ । यस आयोजनामा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ३६ र स्थानीय सर्वसाधारणको ३० प्रतिशत र आइएमई समूहको ३४ प्रतिशत लगानी छ ।

त्यस्तै लिबर्टी इनर्जी कम्पनीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाटको रु चार अर्ब ६३ करोड लगानीमा निर्माण थालिएको छ । दोर्दी खोलामै लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को सहायक कम्पनी दोर्दीखोला जलविद्युत् कम्पनीले दोर्दी–१ (१२.१ मेगावाट) आयोजना निर्मार्णाधीन छ । यस आयोजनाको लागत रु दुई अर्ब ३९ करोड रहेको जनाइएको छ ।

दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि दुई मेगावाटको छ््याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेका प्रवद्र्धक छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीकाअनुसार आयोजना रु ८० करोडभन्दा बढी लगानीमा उक्त आयोजना निर्माणधीन छ । प्राधिकरणले मस्र्याङदी नदी करिडोरमा निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत् आयोजनाले उत्पादन गर्ने एक युनिट विद्युत् पनि खेर जान नदिने प्रतिबद्धता यसअघि नै जनाएको छ ।

प्राधिकरणले प्रसारण लाइन तथा सव स्टेसनको काम द्रुतगतिमा अघि बढाउन प्रसारण लाइन आयोजना प्रमुखलाई निर्देशन दिएको थियो । लमजुङको उदिपुर, कीर्तिपुर तथा टारीकुना निर्माण हुने र तनहुँको मार्कीचोकमा सवस्टशन निर्माणको क्रममा छन् । दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्नका लागि ११ किलोमिटर लामो कीर्तिपुर–उदिपुर १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणमा छ । आयोजना प्रमुख चिरन्तन राणाले आयोजनाको समग्र अवस्थाका बारेमा मन्त्री भुसाललाई जानकारी दिँदै तोकिएको समयमा नै पूरा गराउन आफू लागिपरेको बताउनुभयो ।

‘उदिपुर–मार्किचोक–भरतपुर प्रसारण लाइन निर्माणका लागि जनबरी २०१८ मा ठेक्का लागेको थियो । कूल १८ महिनाभित्र निर्माण सक्ने लक्ष्यका साथ काम सुरु भए पनि अपेक्षित प्रगति हुनसकेको छैन । गत असारमा आएको बाढीपहिरोका कारण प्रसारण लाइनका चार वटा टावर बगाएको छ । ती टावर केही समयभित्रै सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?