दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’


सउल: दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।

कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो । खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने सङ्केत डब्लुएचओले दिएसँगै नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा दक्षिण कोरिया सरकारले चिन्ता र चासोको विषय भएको जनाएको छ ।

कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । यसका साथै नयाँ भेरियन्ट देशमा फैलिनबाट रोक्नका लागि विभिन्न नियमको घोषणा गरिएको छ ।

केडिसीएले ओमिक्रोन भेरियन्ट देशका अन्य भागमा फैलिएकोबारे पत्ता लगाउन परीक्षण तिव्र पारेको छ । ओमिक्रोन कोरियामा देखिएपछि यहाँ रहेका नेपालीमा पनि त्रास फैलिएको छ । ओमिक्रोनका कारण नेपाली कामदार कोरिया ल्याउने क्रा फेरि रोकिन सक्ने खतरा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?