पशुपति क्षेत्रमा भक्तजनको भीड, बाला चतुर्दशी मेलाको तयारी पूरा


पूर्णप्रसाद मिश्र
काठमाडौँ: दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् । पशुपति क्षेत्रमा सहजरुपमा बत्ती बालेर बस्ने स्थान पाउन मुस्किल हुने गरेको तेह्रथुमबाट बत्ती बाल्न आउनुभएका श्याममणि ढुङ्गानाले गुनासो गर्नुभयो ।
मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप वाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरिन्छ । यसो गरेमा दिवङ्गत पितृको सद्गति हुनुका साथै शान्ति पाउने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा बाला चतुर्दशी मेलाका सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले आज बिहानदेखि पशुपति क्षेत्रमा सुरक्षाका सबै व्यवस्थापन गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । यसका लागि भकुण्टोलस्थित कारपार्कमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर खडा गरिएको छ ।

पशुपति क्षेत्रको मुख्य भागस्थित शतबीज मार्ग र बत्ती बाल्ने स्थानमा आवश्यकताअनुसार सुरक्षाकर्मीको परिचालन गरिएको छ । सुरक्षाकर्मीले पशुपति क्षेत्रमा मांस, मदिरा एवं नशालु पदार्थको सेवन तथा बिक्री वितरण पूर्णरुपमा निषेध गरेको छ । यसका लागि अनुगमन गर्न प्रभावकारी संयन्त्र निर्माण गरिएको कोषले जनाएको छ ।
शतबीज छर्न विशेषरुपमा भक्तजनको भीड लाग्ने मृगस्थली क्षेत्रमा पनि कोषका सुरक्षाकर्मीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाइएको छ । भुवनेश्वरीअघि शङ्कराचार्य मठको पश्चिम बाटोमा सामुदायिक प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ । खोजखबर केन्द्र पनि त्यस क्षेत्रमा सञ्चालन गरिँदैछ ।

पालको व्यवस्था

काठमाडौँ महानगरपालिकाको सहयोगमा कोषले घुम्ती शौचालयको व्यवस्था पशुपति क्षेत्रमा गरेको छ । बत्ती बाल्ने भक्तजनका लागि वनकाली, शङ्कराचार्य मठ, चार शिवालय एवं अन्य स्थानमासमेत नेपाली सेना, सशस्त्र र प्रहरीको सहयोगमा पाल टाँगिएको छ ।
बत्ती बाल्न एवं शतबीज छर्न आउने भक्तजनका लागि तिलगङ्गा र भण्डारखालमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । मेलाका लागि महानगरी ट्राफिक प्रहरी प्रभाग गौशालाबाट ट्राफिक एवं सवारी व्यवस्थापनको काम गर्ने गरी जिम्मेवारी तोकिएको छ । मन्दिर तथा त्यसअघिको मुख्य क्षेत्रमा पराल लैजान कोषले निषेध गरेको कार्यकारी निर्देशक खतिवडाले सुनाउनुभयो ।
मूल मन्दिरको पश्चिमढोका र दक्षिणढोका अघि भक्तजनलाई बत्ती सल्काउने व्यवस्था मिलाइएको छ । श्री पशुपतिनाथ अमालकोट कचहरीबाट दाउराको व्यवस्था गरी कैलाश चउर, हंशमण्डप, चार शिवालय आदि स्थानमा जाडोबाट बच्न धुनी जगाउने व्यवस्था मिलाइएको छ । दाउरा नपुग भएमा दि टिम्बर कर्पोरेशन पशुपतिबाट पछि भुक्तानी गर्ने गरी कोषको सिफारिसमा लैजाने व्यवस्था मिलाइएको छ ।
मन्दिर प्राङ्गण एवं मुख्य क्षेत्रभित्र शतबीज नछर्न उम्रने खाली ठाउँमा मात्र छर्न कोषले भक्तजनलाई आह्वान गरेको छ । यसका लागि सुरक्षाकर्मी एवं स्यवंसेवक परिचालन गरेर व्यवस्थित गरिएको छ । महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहकार्यमा फोहर व्यवस्थापन एवं सरसफाइको व्यवस्था मिलाइएको छ ।

बत्ती शुल्क उठाए कारबाही गरिने

कसैले बत्ती शुल्क उठाएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने कोषले जनाएको छ । यसका लागि अनुगमन टोली पनि खटाइएको छ । शतबीज छरिसकेपछि पशुपति क्षेत्रमा श्रीपशुपतिनाथको कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष, दर्शन गर्ने व्यवस्था मिलाइएको छ । सुरक्षा निकाय एवं कोषका कर्मचारीको सहयोगमा यी सामग्री दर्शनको व्यवस्था शुक्रबार बिहान मिलाइएको छ ।
पशुपतिनाथको मुख्य क्षेत्र बाहिर विभिन्न सङ्घसंस्थाले स्वास्थ्य शिविर खडा गरेका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सहयोगमा कोषले खानेपानी र स्नान गर्ने पानीको व्यवस्थापन गरेको छ ।

मेला क्षेत्र र शतबीज मार्गमा नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा पर्याप्तमात्रामा बत्ती बल्ने व्यवस्था मिलाइएको छ । नेपाल टेलिकम एवं दूरसञ्चार प्राधिकरणको सहयोगमा पशुपति क्षेत्रमा मेला अवधिभर बिटिएस सेवाको व्यवस्था मिलाइएको छ । बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा बजार राख्नेसँग दस्तुर लिइने भएको छ ।

सोही अवसरमा बत्ती बाल्नुपर्ने तर आफू उपस्थित हुन नसक्नेसँग कोषले शुल्क लिएर सेवा उपलब्ध गराउने भएको छ । रु एक हजारको रसिद काटेपछि कोषले नै बत्ती बालेर रातभर कुरी बिहान वाग्मती सेलाउने व्यवस्था मिलाएको छ । रुद्रगारेश्वर क्षेत्रमा यो सेवाको व्यवस्था मिलाइएको कर्मचारी गोकर्ण पौडेलले जानकारी दिनुभयो ।
मेला क्षेत्रमा आइपर्नसक्ने सम्भावित दुर्घटना हुन नदिन सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन गणको सहकार्यमा पशुपति पश्चिम ढोका र कैलाश चउरमा व्यवस्था मिलाइएको छ । जहाँ सशस्त्रको टोली तैनाथ गरिसकिएको छ । महानगरीय प्रहरी वृत्त गौशालामा दमकलको व्यवस्था गरिएको छ । मेलाका लागि नेपाल प्रहरीले पनि विपद् उद्धार टोली पशुपति क्षेत्रमा खटाएको कोषले जनाएको छ ।
मेला क्षेत्रमा नेपाली सेनाको १४ नं बाहिनी एयरपोर्टका तर्फबाट सैनिक गस्तीको समेत प्रबन्ध मिलाइएको छ । मेलाका क्रममा पशुपति क्षेत्रमा गरगहना लगाएर नआउन अनुरोध गरिएको छ । साथै मदिरा सेवन गरेर पशुपति क्षेत्रमा आई होहल्ला एवं हुलहुज्जत गरेमा पनि कारबाही गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?