गलेश्वरमा शतबीज रोपण र दीपदान गर्नेको भीड


गलेश्वर: पश्चिम नेपालको पशुपतिनाथका रूपमा चिनिएको म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेको भीड लागेको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटर उत्तरमा पर्ने मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वरधाममा गए रातिदेखि नै टाढाटाढाबाट भक्तजन आएका थिए । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रूपमा लिँदै विशेषगरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन छ ।

कालीगण्डकी नदीमा स्नान गरी धान, जाँै, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सातथरिका बीउ छर्न आएका भक्तजनको घुइँचो लागेको हो । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् । गलेश्वरमा शतबीज छर्नका लागि म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, नवलपरासीलगायतका स्थानबाटसमेत भक्तजन आएका गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

द्वापरयुगमा सतिदेवीको गला पतन भएको मानिने गलेश्वरमा शतबीज छर्नका लागि हजारौँ भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका भीमनाथ पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार गलेश्वरमा रातभरि भजनकीर्तन गर्दै जाग्राम बसेर बालाचतुर्दशीका दिन बिहानै कालीगण्डकी स्नान गरी पितृको स्मरण गर्दै दीपदानसहित शतबीज छर्ने प्रचलन छ ।

दुई वर्षअघिसम्म गलेश्वरमा पूजाआजाका साथै बालाचर्तुदर्शीको अवसरमा घुम्ती ब्यापार मेलासमेत लाग्ने गर्दथ्यो । तर कोभिड–१९ को सङ्क्रमणका कारणले गत वर्ष र यस वर्ष मेला र घुम्ती व्यापार भने सञ्चालन गरिएको छैन ।

कृषि र शिक्षाका लागि एक करोडको अक्षयकोष

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माविमा कृषि र अध्ययनका लागि एकै परिवारका तीनभाइले रु एक करोडको अक्षयकोष स्थापना गर्नुभएको छ । बेलायती सेनाबाट अवकाशप्राप्त मेजर डिल्लीराज गर्बुजाले शिख माविको ६७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शिख, स्वात, फलाते, किन्दुको शिक्षा र कृषि क्षेत्रको विकासका लागि रु एक करोडको अक्षयकोष स्थापना गरिएको घोषणा गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका गर्बुजाले आफू र आफ्ना भाइहरु क्याप्टेन उमेशकुमार गर्बुजा र शिख्तानी समाज युकेका पूर्वअध्यक्ष दानबहादुर गर्बुजाको तर्फबाट कोष स्थापना गरिएको जानकारी दिनुभयो । शिख माविबाट कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई उच्च शिक्षामा सघाउने र कृषिलाई प्रवद्र्धन गर्न कोष परिचालन गरिने उहाँको भनाइ छ ।

डिल्लीराज गर्बुजा, उमेश र दानबहादुर एकै परिवारका दाजुभाइ हुनुहुन्छ । दाजुभाइ मिलेर कोष बनाएको डिल्लीराजले बताउनुभयो । शिखमा जन्मिनुभएका उहाँहरू बेलायतमा बस्नुहुन्छ । कोषको ब्याजबाट विद्यार्थी र शिख्तानी समाजमा धेरै आलु उत्पादन गर्ने कृषकलाई वार्षिकरूपमा पुरस्कृत गर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?