कांग्रेस कर्णाली प्रदेश सभापतिमा शाही


कर्णाली: नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजङ्ग शाही निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट उहाँले प्रतिद्वन्द्वी भूपेन्द्रजङ्ग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो ।

निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललितजङ्गले ४२२, उहाँका प्रतिद्वन्द्वी भूपेन्द्रजङ्गले ३१७ र मोतीराज बमले सात मत प्राप्त गर्नुभएको थियो । सभापतिमा निर्वाचित जुम्ला निवासी ललितजङ्ग दोस्रो संविधानसभामा सदस्य हुनुहुन्थ्यो ।

कूल ७७१ मतदाता रहेको प्रदेश अधिवेशनमा ७५४ मत खसेको थियो भने आठ मत बदर भएको थियो । निर्वाचन समितिका सदस्य विवशकुमार बस्नेतले अन्य पदहरूको मतगणना जारी रहेको बताउनुभयो । कांगे्रसको विधानमा प्रदेश कार्यसमितिको पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री पुरुषतर्फ दुई र महिलातर्फ एक निर्वाचित हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?