कांग्रेसको प्रदेश अधिवेशन र लोकसेवाको परीक्षाले राहत


गण्डकी: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको गण्डकी प्रदेश अधिवेशन र लोकसेवा आयोगका विभिन्न परीक्षाका कारण पछिल्लो हप्ता पोखराको पर्यटनमा राहत मिलेको छ ।

कोरोना कहरका कारण प्रभावित भइरहेको पोखराको पर्यटनलाई आन्तरिक पर्यटनले केही मात्रामा भए पनि भरथेग गरिरहेको अवस्थामा कांग्रेसको प्रदेश अधिवेशनमा आएका एघार सय भन्दा बढी प्रतिनिधिसँगै पर्यवेक्षक तथा कांग्रेसी कार्यकर्ता र लोकसेवाका विभिन्न पदका लागि परीक्षा दिन आएका परीक्षर्थीका कारण पछिल्लो हप्ता पोखराका होटेल भरिएका थिए ।
कांग्रेसको अधिवेशनमा एघार सय प्रतिनिधिका लागि लेकसाइडका होटेलमा बस्ने व्यवस्था मिलाइएको थियो । प्रतिनिधिसँगै सङ्घीय संरचनाअनुसार पहिलो पटक भएको अधिवेशन हेर्न ठूलै सङ्ख्यामा जिल्ला–जिल्लाबाट आएका पर्यवेक्षक एवं कार्यकर्ताले पोखरा भरिएको थियो । कांग्रेस अधिवेशन र लोकसेवाको परीक्षाले यहाँका होटेल व्यवसायीलाई ठूलै राहत पुगेको पश्चिमाञ्चल होटेल सङ्घ(हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिवेशन र परीक्षाका कारण पछिल्लो हप्ता साना तथा मझौला होटेलको क्षमताको ७० देखि ८० प्रतिशतसम्म भरिएका थिए । ठूला होटेलमा भने सोही अनुपातमा पर्यटक नभरिए पनि केही न केही राहत भने पुगेको उहाँले जानकारी दिनुभयो ।
पोखरा पर्यटकीयस्थल हुनुका साथै गण्डकी प्रदेशको राजधानी भएका कारण राष्ट्रिय एवं प्रदेशस्तरका कार्यक्रमले यहाँको होटेल व्यवसायमा समय–समयमा सहयोग पुग्ने गरेको लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्मराज पन्थीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?