कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेद्वारी घोषणा


काठमाडौँ: नेपाली कांग्रेस नेत्री एवं पूर्वराज्यमन्त्री सीता गुरुङले पार्टीको शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

उहाँले आदिवासी÷जनजाति क्लष्टरतर्फको सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । उहाँ हाल कांग्रेसको केन्द्रीय आदिवासी जनजाति विभागको प्रमुखसमेत हुनुहुन्छ । कांग्रेस विधानमा समावेशीका विभिन्न क्लष्टरसहितका आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

पार्टीको पदाधिकारीमा महिलाको सङ्ख्या बढ्नुपर्ने बताउँदै उहाँले आफूले लामो समयदेखि पार्टीमा काम गर्दै आएको भूमिकाका आधारमा उम्मेद्वारी घोषणा गरेको बताउनुभयो । तेह्रथुमको आठराईमा जन्मिनुभएकी नेत्री गुरुङसँग नेविसङ्घको जिल्ला तहको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । उहाँले नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिव भएर काम गर्नुभएको थियो ।

पार्टीको १२औँ र १३आँै महाधिवेशन पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित उहाँ २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेद्वार हुनुहुन्थ्यो । दुवै संविधानसभामा सदस्य रहेकी नेत्री गुरुङ २०७४ सालको नेका नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?