विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान


गोपालप्रसाद बराल
महोत्तरी : मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । मङ्गलबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात यहाँ श्रीलक्ष्मीनारायण मठको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाहमहोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने पुरानो परम्परा हो ।

महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात मटिहानी, दोस्रो रात जलेश्वर, तेस्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो । यसक्रममा दिवा र रात्रिभोजनका स्थल निर्धारित भएबमोजिम स्थानीयवासीले अहोभावले स्वागत गर्दै भोजन, विश्रामको चाँजो मिलाउने परम्परा रहेको पिपरा गाउँपालिका बनौलीका सञ्चारकर्मी ६५ वर्षीय वैद्यनाथ चौधरीले जानकारी दिनुभयो ।

यो पुरानो परम्परा भने अब हराउँदै गएर केही साधुसन्त पञ्चमीको एक दिनपूर्व मटिहानी पुग्ने र महोत्सवको मुख्य दिन पञ्चमी तिथिमा जलेश्वर हुँदै जनकपुर जान थालेका छन् । विज्ञान प्रविधिको विकाससँगै मान्छेको व्यस्तता बढेर, पुरानो पुस्ताको अनुशरण हुन छाडेर र मेला उत्सवको आकर्षण घट्दै गएर सीमित सङ्ख्याका साधुसन्त र सर्वसाधारण श्रद्धालु आउने गरेका यात्राको बाटो क्षेत्र (मटिहानी–जलेश्वर–पिपरा–जनकपुर) का बासिन्दा बताउँछन् । कतिपय भारतीय साधुसन्त त आज नै सीमानाकाबाट नेपाल प्रवेश गर्दै सोझै जनकपुर पुग्न थालेका जलेश्वर नगरपालिकाको सारीनिवासी रवीन्द्र ठाकुर बताउनुभयो । पछिल्लो समयमा मेलाउत्सवका भीडभाडमा असुरक्षाभाव बढ्दै गएर पनि महोत्सवमा उपस्थिति पातलिँदै गएको सामाजिक अभियानकर्मीसमेत रहनुभएका उहाँको भनाइ छ ।

गत वर्ष कोभिड–१९ महामारीको सन्त्रासले नेपाल–भारत सीमानाकामा आवतजावत ठप्प हुँदा भारतीय साधुसन्त महोत्सवका लागि नेपाल आएनन् । यसपालि पनि यो महाव्याधि पूर्ण नियन्त्रण भइनसकेको र पछिल्लो कालमा नयाँ भेरयन्ट ‘ओमिक्रोन’ भारतका विभिन्न ठाउँमा देखिएपछि महोत्सवका लागि नेपाल आउने पातलिएका अड्कल गरिएको छ ।

जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेतायुगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला (विदेह)का राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो । हिन्दू परम्परामा श्रीराम विष्णुका अवतार र मर्यादा पुरुष्वत्तम कहलिन्छन् भने सीता लक्ष्मीकी अवतार र आदर्शनारीका रूपमा पूज्य छन् । जनकपुरधाममा सम्पन्न गरिने महोत्सवको साप्ताहिक तालिकामा जनकपुर दर्शन, फूलबारी लीला, धनुष भङ्ग र स्वयम्वर, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवा विधि छन् । विवाहको भोलिपल्ट रामकलेवा विधिका दिन जन्ती भई आएका भारतीय साधुसन्तलाई मिष्ठान्न भोजन गराई वस्त्राभूषण र दक्षिणा दिएर बिदाइ गरिने चलन छ । यी सबै विधिका मुख्य आयोजक जानकी मन्दिर व्यवस्थापन हो ।

विवाह महोत्सवमा जानकी मन्दिरका महन्थ राजा जनकको र जनकपुरकै राम मन्दिरका महन्थ राजा दशरथको भूमिकामा हुन्छन् । समारोहमा मैथिल परम्पराअनुसार जन्ती र घरगाउँले तथा सम्धीसम्धीबीचको हाँसख्याल ठट्टा सहभागीहरुका लागि मनोरञ्जक हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का साहित्य विषयका सहप्राध्यापक ध्रुव राय बताउनुभयो ।

प्राचीन मिथिलाको विवाह पद्धति, चालचलन र रितिथिति सम्झाउने यो सांस्कृतिक पर्वको शाख ओइल्याउन दिन नहुने पाका मैथिलको भनाइ छ । यसका लागि नयाँ पिँढीका मैथिल युवाले अग्रसरता लिनपर्ने महोत्तरीकै बलवा नगरपालिकाको धमौरा बस्तीका बासिन्दा मैथिल संस्कृति र परम्पराका जानकार ७० वर्षीय कामेश्वर झाको सुझाव छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?