कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता गर्ने नेता सिंहको घोषणा


काठमाडौँ: नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गर्ने घोषणा गर्नुभएको छ ।

यसअघिको संसदीय निर्वाचनमा मतदाताले केन्द्रीय नेतृत्व परिवर्तन गरेर ‘मत माग्न आऊ’ भन्ने सन्देश दिएकाले आफूले आजै सभापति पदमा उम्मेद्वारी दिन लागेको घोषणा सभामा जानकारी गराउनुभयो । एक सय ६५ प्रतिधिसभा निर्वाचन क्षेत्रमध्ये पार्टीले २३ क्षेत्रमा मात्र जित्नु नै नेतृत्व परिवर्तन गरेर मत माग्न आऊ भन्ने सन्देश भएको उहाँको भनाइ थियो ।

“पार्टीले तोकिएको समयमा महाधिवेशन गर्न नसकेको, क्रियाशील सदस्यता वितरण विधानले तोकेको समयमा गर्न नसकेको, विधानले तोकेभन्दा फरक समयमा गरेको क्रियाशील सदस्यता वितरणमा पनि सबै कार्यकर्तालाई न्याय हुन नसकेकाले पार्टीमा विधि र पद्धति स्थापनाका लागि मैले सभापति पदमा उम्मेदवारी दिन लागेको हो”, नेता सिंहले भन्नुभयो ।

पार्टीभित्रको विचार समूहमा आफूले १३औँ महाधिवेशनमा पनि दाबी छोडेको उल्लेख गर्दै यसपटक अन्यायमा परेका सबै नेता कार्यकर्ताको न्यायका लागि आफ्नो नेतृत्वमा समूह खडा गर्न लागिएको उहाँले सुनाउनुभयो । सिंह समूहबाट उपसभापतिमा पूर्वउपप्रधानमन्त्री एवं पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइरालाले उम्मेदवारी दिनुहुने भएको छ । समूहका अन्य पदाधिकारी एवं सदस्यका विषयमा छलफल भइरहेको घोषणासभामा जानकारी दिइएको छ ।

कार्यक्रममा उपसभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएकी कोइरालाले सभापतिका उम्मेदवारमध्ये राम्रो र दृष्टिकोण भएका नेता सिंह भएकाले आफू यो समूहमा लागेको जानकारी गराउनुभयो । “कांग्रेसलाई ठूलो दल बनाउन सबैलाई समेट्ने समूह यही हुन्छ, नयाँ अनुहारबाट नयाँ विचार दिन पनि यो समूहले पार्टी महाधिवेशन जित्छ, देशभरका नेता कार्यकर्ताले पार्टीमा नयाँ विचार खोजेका छन्”, उहाँले भन्नुभयो ।

कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँले देशभरका महाधिवेशन प्रतिनिधिले नयाँ विचारसहितको कांग्रेसको माग गरेकाले पनि यो समूह बनाउनुपरेको जानकारी गराउनुभयो । घोषणासभापछि यो समूह रामशाहपथस्थित यलम्बर पार्टी प्यालेसबाट ¥यालीसहित उम्मेदवारी दर्ता गर्न राष्ट्रियसभा गृह लागेको छ ।

कार्यक्रममा नेता सिंह र कोइरालालगायत समूहको अवधारणापत्र पनि सार्वजनिक गरिएको थियो । घोषणासभामा सांस्कृतिक झाँकी एवं बाजागाजासहित काठमाडौँ, ललितपुर र भक्तपुरका कांग्रेस नेता, कार्यकर्ता उपस्थित भएका थिए । विभिन्न जिल्लाका सभापतिले कार्यक्रममा उपस्थित भएर ऐक्यबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?