सर्लाही र जाजरकोटमा आगोले जलेर चारको मृत्यु


मलङ्गवा: सर्लाहीमा आगोले जलेर तीन जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो ।

आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचारपछि थप उपचारका लागि काठमाडाँै लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको थियो ।

आगोले जलेर जोगी महरा आफैँ र उहाँकी पाँच वर्षीया छोरी सुधा सामान्य घाइते भएका छन् । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सरसमान समेत जलेर नष्ट भएका छन् ।

यसैगरी सर्लाही सदरमुकाम मलङ्गवा–६ खुटौनामा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । आगोले जलेर गम्भीर घाइते भएका ७० वर्षीय नसिर खाँको गए राति जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । अत्यधिक मदिरा सेवन गरेका नसिर घुर ताप्ने समयमा शरीरमा आगो लागेको मृतककी पत्नी मदिना खातुनले जानकारी दिनुभयो । जाडो बढेसँगै सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धि भएको छ ।

आगो निभाउन खोज्दा मृत्यु
जाजरकोट: जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ । हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पु¥याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले बताउनुभयो । हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्या भएको शाहीले बताउनुभयो । लामाको गए राति मृत्यु भएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?