आत्महत्या रोकथामका लागि प्रतिबद्धता


दमौली : तनहुँको देवघाट गाउँपालिका–५ का बासिन्दाले आत्महत्या रोकथामका लागि प्रतिबद्धता जनाएका छन् । इलाका प्रहरी कार्यालय देवघाटले बिहीबार आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले आत्महत्या रोकथाम र नियन्त्रणका लागि प्रतिबद्धता जनाएका हुन् ।

सो क्रममा ३०० भन्दा बढीले आत्महत्या रोकथामका लागि प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् । स्थानीयवासीले ‘जीवनमा आइपर्ने हरेक कठिन परिस्थितिको सामना गर्नेछु तर आत्महत्या गर्ने छैन’, लेखिएको व्यानरमा हस्ताक्षर गरेका थिए । आत्महत्या समस्याको समाधान नभएको उनीहरुको भनाइ छ ।

पछिल्लो समय बढ्दै गइरहेको आत्महत्याको घटनालाई न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायब निरीक्षक सुशील लामिछानेले जानकारी दिनुभयो ।

देवघाटमा गत एक वर्षको अवधिमा तीन जनाले आत्महत्या गरेका छन् । “आत्महत्या समस्याको समाधान होइन, यसको रोकथामका लागि स्थानीयवासी जागरुक हुनुपर्छ, स्थानीयवासीकै सहभागितामा सचेतनामूलक कार्यक्रम गरेका हौँ”, उहाँले भन्नुभयो । गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले जुनसुकै समस्या आइपरे पनि त्यसको समाधान आत्महत्या नभएकाले यसको रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

चार विद्यालयमा विद्युतीय पुस्तकालय

व्यास नगरपालिकाका चार विद्यालयमा विद्युतीय पुस्तकालय निर्माण गरिने भएको छ । नगरपालिकाले शिक्षा मन्त्रालयको सहकार्यमा नगर क्षेत्रभित्र सञ्चालित चार विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न लागेको हो ।

विद्यार्थीलाई पछिल्ला विकास प्रविधिमा आबद्ध गरी नवीनतम् ज्ञान उपलब्ध गराउने नीतिबमोजिम विद्युतीय पुस्तकालय स्थापना गर्न लागिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रराज रेग्मीले जानकारी दिनुभयो । विद्युतीय पुस्तकालय स्थापनाका लागि सबै विद्यालयसँग प्रस्तावना माग गरिएको र विद्यालयहरूले नगरपालिकामा प्रस्तावना पेश गरेको रेग्मीले बताउनुभयो । “पेश भएका प्रस्तावनाउपर छलफल गरेर विद्यालय छनोट अन्तिम चरणमा पुगेको छ, एक÷दुई दिनभित्रै विद्यालय छनोट भएपछि पुस्तकालय स्थापनाको काम अगाडि बढ्छ”, रेग्मीले भन्नुभयो । विद्युतीय पुस्तकालय स्थापनाका लागि प्रत्येक विद्यालयलाई रु छ लाख ५० हजारका दरले बजेट उपलब्ध गराइनेछ ।

सूचना र प्रविधिको विकाससँगै विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने नीति लिइएको छ । बिनाइन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएसँगै परम्परातरूपमा सञ्चालन हुँदै आएका पुस्तकालयको विकल्पमा रूपमा विद्युतीय पुस्तकालयको माग बढेको छ ।

नगरपालिकाले तीन विद्यालयमा आइसिटी स्थापना गर्ने भएको छ । ती विद्यालयलाई रु ५० हजारका दरले बजेट प्रदान गरिनेछ । त्यस्तै तीन विद्यालयका लागि विज्ञान प्रयोगशाला र पाँच विद्यालयमा विद्यालय सामग्री खरिदका लागि रु ५० हजारका दरले बजेट उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?