सम्झनामा डा तारानाथः निर्भिक र विराट प्रतिभा


प्रकाश सिलवाल
काठमाडौँ: लेखानीमा झर्रो नेपालीपनको सुगन्ध पस्कने नेपाली साहित्याकारका विराट प्रतिभा डा तारानाथ शर्माको निधनबाट साहित्य क्षेत्रमा अपुरणीय क्षति पुग्न गएको छ ।

बहुआयामिक र निर्भिक व्यक्तित्व डा शर्मा कुशल शब्दशिल्पीका साथै नेपाली र अङ्ग्रेजी दुवै भाषाका प्रखर विद्वान् हुनुहुन्थ्यो । उहाँको भौतिक शरीर हामीमाझ आजदेखि रहेन । अब उहाँका कृतित्व र व्यक्तित्व सम्पत्तिका रुपमा रहन पुगेका छन् । समालोचक एवं साहित्यिक अग्रजले डा शर्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँका कृतित्व र व्यक्तित्व बहुआयामिक भएकाले उहाँको योगदान अन्य कुनै स्रष्टासँगका योगदानभन्दा पृथक भएको बताउनुभएको छ । वरिष्ठ साहित्यकार डा मोदनाथ प्रश्रितले रासससँगको कुराकानीमा डा शर्मालाई संक्षेपामा सम्झँदै भन्नुभयो, “उहाँ प्रखर मान्छे हुनुहुन्थ्यो । लागेको कुरा बोल्न र विश्लेषण गर्न सक्ने स्वभावका धुरन्धर विद्वान् हुनुहुन्थ्यो । प्रगतिशील साहित्यका क्षेत्रमा उहाँको विशेष योगदान रहेको छ ।”

संस्कृतिविद् प्रश्रितले डा शर्मामा हरेक विषयमा अध्ययन गहिरो हुने भएकाले कुनै अभिव्यक्ति दिनुपर्दा लुकाएर र छिपाएर नभई खरोरुपमा प्रस्तुत गर्ने स्वभाव पाइने स्मरण गर्नुभयो । वरिष्ठ साहित्यकार एवं राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले डा शर्मा आफ्नो समयका बाघ भएको र उहाँ एक प्रकारले नेपाली समालोचना र निबन्धको सन्दर्भमा परम्परा र प्रचलित मान्यताभन्जक मानिने टिप्पणी गर्नुभयो । “नेपाली समालोचना विधालाई नयाँ मोड र आकार दिनेमध्येका उनी अगुवा थिए । केही आफ्नो अध्ययन र दृढ निजी विचारका कारण जति नै आलोचित भए पनि उहाँले जतिबेला जे उचित ठाने, स्पष्ट बोले, स्पष्ट लेखे । यद्यपि उहाँले स्वयं आफ्नै मान्यता खण्डित गर्नु परेका उदाहरण पनि उल्लेख गर्ने गरिन्छ”, साहित्यकार श्यामलले भन्नुभयो, “शर्माले निजात्मक शैलीमा उत्कृष्ट निबन्ध दिए, यात्रा निबन्धलाई उहाँले उचाईमा पु¥याए । निर्भिकता उहाँको लेखनको सबैभन्दा महत्वपूर्ण गुण थियो । आकर्षक भाषा र विशिष्ट शैलीका कारण उहाँले हामीलाई आफनो विशिष्ट अभिव्यक्ति कौशल देखाएका छन् ।”

मूल रुपमा उहाँलाई देवकोटा र शङ्कर लामिछानेको शैली र परम्पराबाट उठेर फरक निजात्मक नेपाली निबन्धको श्रीगणेश गर्ने श्रेय जान्छ भन्दै साहित्यकार श्यामलले अनुज पुस्ताका प्रेरक रहिआएका उहाँ प्रतिभाको पहिचान र कदर गर्न सक्ने दरो मुटु भएका समालोचक थिए । उहाँको निधनले नेपाली साहित्यको यस्ता निर्भिक तर विराट प्रतिभाको अस्त भएको अनुभव हुन्छ बताउनुभयो । प्रतिभाविहीन लेखनदासलाई डा शर्माले कहिल्यै लेखक नमान्ने र ठीक बेठीकको निर्णय दिन नसक्ने समालोचकलाई शर्माले समालोचक नमानेको साहित्यकार श्यामलको बुझाइ छ ।

त्रिभुवन विश्वविद्यालयका नेपाली केन्द्रीय विभागका प्रा डा लक्ष्मणप्रसाद गौतमले डा शर्मा साहित्यका सबै विधामा अब्बल रहनुभएको मूल्याङ्कन गर्दै नियात्रादेखि भाषा अभियान मात्र नभएर कथा लेखनमा पनि उहाँको सशक्त र मौलिक पहिचानको प्रशंसा गर्नुभयो । त्रिवि नेपाली विषय समितिका सदस्य डा गौतमले भन्नुभयो, “मेरो जागीरे जीवनको सुरुआत डा शर्माको लेखनी रहेको कक्षा ८, ९ र १० को पाठ्यक्रममा समावेश ‘महेन्द्रमाला’ नेपाली विषय पढाएर भएको हो । त्यस प्रकारको विशिष्ठ र मर्मज्ञखालको पाठ्यपुस्तक त्यसपछि मैले कुनै पनि पाएको छैन । उहाँमा बालबालिकाले कस्तो रुचाउँछन् र उनीहरुलाई कसरी शिक्षा दिनुपर्छ भन्ने राम्रो ज्ञान थियो ।”

डा गौतमले आफू महासचिव रहेको मानव नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको सल्लाहकार रहेका र भाषाप्रतिको डा शर्माले दर्शाउनुभएको असाध्यै गहिरो प्रेमको पनि स्मरण गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानले शर्माको निधनबाट भरपर्दा र उच्च बौद्धिक अभिभावक गुमाउनुपरेको जनाएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ र सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा डा शर्माका कृतिहरु राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, आत्मगौरव, स्वाभिमान, विश्व मानवताका सन्देशयुक्त भएको जनाएको छ ।

इलामको सूर्याेदयन नगरपालिका–९, बरबोटमा विसं १९९१ असार ९ गते जन्मनुभएका डा शर्माको आज बिहान ८७ वर्षको उमेरमा निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । झर्राेवादी आन्दोलनका अगुवा डा शर्मा उहाँ मधुमेह र बिर्सने रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको कृति ‘बेलाइततिर बरालिँदा’ ले २०२६ सालमा मदन पुरस्कार तथा ‘सम र समका कृति’ले २०२९ सालमा साझा पुरस्कार पाएको थियो भने उहाँले २०२३ सालमा रत्नश्री स्वर्णपदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारसमेत पाउनुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?