प्रतिनिधिसभा बैठक: आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश


काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका बाबजुद प्रतिनिधिसभामा ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८’ पेश भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेश गर्नुभयो । एमाले सांसदले गैरसांसदलाई प्रवेश निषेध गर्नुपर्ने, संवैधानिक सर्वोच्चता कायम गर्नुपर्नेलगायतका माग गर्दै नाराबाजी गर्नुभएको थियो ।

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना सभामुखले टाँस नगरेको भन्दै विपक्षी दलले संसद् बैठकमा अवरोध गर्दै आएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले महामारीका कारण संसद् बैठक नियमित हुन नसकेको र भएका बैठकमा पनि अवरोध कायम हुँदा आमनागरिकका दैनिक समस्या सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने तथा महत्वपूर्ण विधेयक विचराधीन रहेकाले बैठकमा अवरोध नगरी नियमित सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै एमाले सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि उहाँले कार्यसूचीलाई अगाडि बढाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ८ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?