भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहार स्वरुप प्रदान


काठमाडौं: भारत सरकारको “खोप मैत्री” योजना अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा बनेको कोभिड–१९ विरुद्धको खोपको एक लाख डोज काठमाडौंको टुँडिखेलस्थित नेपाली सेनाको जंगी अड्डामा आज आयोजित एक समारोहमा उपहार स्वरुप प्रदान ग¥यो । गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बाल कृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गर्नुभयो । लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भारतले उपहार स्वरुप प्रदान गरेको खोपको स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुशी व्यक्त गर्नुभयो ।
सन् २०२० यता कोभिशिल्ड खोप, स्वास्थ्य सामाग्री, एम्बुलेन्स लगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरिरहेको छ । भारतीय सेनाले प्रदान गरेको यो खोप उपहारले दुई देश र दुई देशका सेनाबीचको सहकार्यलाई पुष्टि गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?