कर्मचारी युनियनको अध्यक्षमा पोखरेल


काठमाडौँ : नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ ।

युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतपरिणामअनुसार उहाँले दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । महाधिवेशनले अध्यक्ष पोखरेलको नेतृत्वमा २९ पदाधिकारीसहित १०१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको उपमहासचिव दुर्गाप्रसाद फुँयालले जानकारी दिनुभयो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, खुला उपाध्यक्षमा यज्ञबहादुर ओली, प्रदेश नं १ अध्यक्षमा मानबहादुर वन, मधेस प्रदेश अध्यक्षमा राजकिशोर राउत, बागमती प्रदेश अध्यक्षमा श्रीराम लम्साल, गण्डकी प्रदेश अध्यक्षमा दीपक रेग्मी, लुम्बिनी प्रदेश अध्यक्षमा मदन गौतम, कर्णाली प्रदेश अध्यक्षमा चन्द्रबहादुर खड्का र सुदूरपश्चिम अध्यक्षमा धर्मबहादुर देउवा निर्वाचित हुनुभएको छ ।

यसैगरी महिला उपाध्यक्षमा निर्मला शर्मा, जनजाति उपाध्यक्षमा पुरण गुरुङ, मधेसी उपाध्यक्षमा अशोककुमार रैनियार, पिछडिएको क्षेत्र उपाध्यक्षमा कृष्णबहादुर सैजुवाल श्रेणीविहीन उपाध्यक्षमा सोम कोइराला विजयी हुनुभएको छ । यस्तै महासचिवमा जनकबहादुर रावल, उपमहासचिव इन्दु शर्मा र गणेश भण्डारी, खुला सचिवमा कुलप्रसाद भट्टराई, जगतबहादुर पाठक, प्रकाश भट्टराई, झविन्द्र पोखरेल, युवा सचिव भूपेन्द्र अधिकारी, जनजाति सचिव शान्तराज राई, मधेसी सचिव चिन्तन आचार्य र कोषाध्यक्ष प्रयास घिमिरे निर्वाचित हुनुभएको छ । नयाँ निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुने युनियनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?