स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छः प्रधानमन्त्री


विराटनगर: प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ । सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो, “सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकाङ्क्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ ।”

प्रधानमन्त्री देउवाले उद्योग, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना बोकेको यो नगरपालिकाले यहाँको समृद्धिका लागि महत्वपूर्ण काम गरोस् भनी शुभकामना व्यक्त गर्दै व्यवस्थित सहरीकरण आजको आवश्यकता हो, यसतर्फ सबैको ध्यान जानुपर्दछ भन्नुभयो । उहाँले निर्माण हुन लागेको भौतिक संरचनालाई पूर्णता दिन सङ्घीय सरकारले थप बजेट व्यवस्थापन गर्ने बताउँदै यहाँको पर्यटकीय स्थलको समुचित विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचन गराउने काम निर्वाचन आयोगको हो बताउँदै सरकारले निर्वाचनका लागि आयोगलाई सहयोग गर्ने मात्र हो भन्नुभयो । प्रधानमन्त्री देउवाले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापना गर्न सरकारले सहयोग गर्ने पनि बताउनुभयो ।

लेटाङ घटनाका दोषीलाई कारबाही गरिन्छ

प्रधानमन्त्री देउवाले मोरङको लेटाङ नगरपालिकामा एक प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको छ ।

खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । भीडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो ।

होली खेल्ने क्रममा खेरुवास्थित सामाजिक शिक्षाका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेको विषयमा शिक्षक र अभिभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयवासीले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेको थियो ।

कार्यक्रममा सांसद गोपीबहादुर अछामी, रमेशजङ्ग रायमाझी र भानुभक्त ढकालले यस क्षेत्रका जनचासोका बिषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले चार बिघा एक कट्ठा जग्गा क्षेत्रफलमा रु २७ करोडको लागतमा सो प्रशासनिक कार्यालय भवन निर्माण हुने जानकारी दिनुभयो । झन्डै तीन दशकअघि स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज हुनुपर्ने माग पनि उहाँले गर्नुभयो ।

उपप्रमुख धनमाया तामाङले यो नगरपालिकामा मिश्रित समुदाय र धर्मका मानिसहरु बसोबास गर्ने भएकाले यहाँको सौन्दर्य नै समाजिक सद्भाव बलियो छ भन्नुभयो ।

यसैगरी, प्रधानमन्त्री देउवाले आजै सुन्दरहरैचा नगरपालिका–१ स्थित नवनिर्मित नगर अस्पतालको उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगरप्रमुख ढकालले ३५ शय्याको सो अस्पतालबाट यस क्षेत्रका नागरिक निकै लाभान्वित हुने बताउँदै नेपाल सरकारको मापदण्डअनुसार अस्पताल निर्माण भएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले अस्पतालका लागि जग्गादाता र अतुलनीय कार्य गर्नुहुने विभिन्न महानुभावलाई सम्मान पनि गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?