कोलम्बोको हिंसात्मक विरोध प्रदर्शनमा अज्ञात ‘अतिवादी’ समूह सम्लग्न रहेको सरकारी दावी


कोलम्बो,श्रीलङ्का: श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षको कार्यालयले कोलम्बोको नुगेगोडास्थित जयन्ती पोस्ट नजिकै विरोध प्रदर्शनका क्रममा अज्ञात ‘अतिवादी’ समूहले हिंसात्मक स्थिति सिर्जना गरेको बताएको छ ।

राष्ट्रपतिको सञ्चार विभागको प्रेस विज्ञप्ति अनुसार फलामका लठ्ठी, हँसिया र भाटाले सुसज्जित भीड प्रदर्शनकारीहरूलाई उत्तेजित गर्न र शहरमा दङ्गाको स्थिति सृजना गर्न मिरिहाना पङ्गरिवाटास्थित श्रीलंकाको राष्ट्रपतिको निवासतिर अघि बढेको थियो । यस विरोधमा संलग्न धेरै व्यक्तिहरूलाई प्रहरीले गिरफ्तार गरेको र तीमध्ये धेरैलाई संगठित अतिवादीको रूपमा चिनाइएको कुरा पनि जानकारी गराएको छ ।

श्रीलङ्कामा ‘अरब स्प्रिङ’को लागि आह्वान गर्दै विरोध प्रदर्शनको नेतृत्व गरेको विज्ञप्तिमा बताइएको छ ।

उक्त समूहले मानिसहरूलाई उत्तेजित गर्न र देशलाई अस्थिर बनाउन सामाजिक सञ्जालको प्रयोग गरेर दङ्गाहरू गराएको प्रशासनले जनाएको छ ।

द्वीप राष्ट्रका विद्यमान मुद्दाहरु सम्बोधन गर्न सरकार असफल भएको भन्दै बिहिबार राजधानी लगायतका सहरहरूमा विरोध प्रदर्शन गरिएको थियो ।

प्रदर्शनकारीहरूको मिर्मिहानास्थित राष्ट्रपति राजापाक्षको निवास बाहिर प्रहरीसँग झडप भएको थियो । सेनाको बस र जीपमा प्रदर्शनकारीहरुले आगजनी गरेका बताइएको छ । यसैबीच प्रहरी प्रशासनले कोलम्बोका विभिन्न क्षेत्रमा पनि कर्फ्यू लगाएको छ ।

“कोलम्बो नर्थ, कोलम्बो साउथ, कोलम्बो सेन्ट्रल र नुगेगोडा प्रहरी डिभिजनभित्र तत्काल लागू हुने गरी थप सूचना नभएसम्म प्रहरीले कर्फ्यू लगाएको छ,” प्रहरी महानिरीक्षकलाई उद्धृत गरी डेली मिररले जनाएको छ ।

विरोधपछि पत्रकारसहित कम्तिमा दश जना घाइते भएका छन् ।

मिरिहानामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि घाइते भएपछि छ जनालाई कोलम्बो नेशनल अस्पतालमा भर्ना गरिएको छ । अर्को चार जना बिरामीलाई कालुबोवाइलास्थित कोलम्बो साउथ टिचिङ अस्पतालमा भर्ना गरिएको डेली मिरर पत्रिकाले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

पर्यटन क्षेत्रको दुर्घटनाका कारण कोभिड–१९ महामारीमा परेर श्रीलङ्काको अर्थतन्त्र निकै खस्किएको छ ।

श्रीलङ्काले हाल विदेशी विनिमय अभावको सामना गरिरहेको छ जसले गर्दा खाद्यान्न, इन्धन, विद्युत र ग्यासको अभाव भएको छ र आर्थिक सहायताको लागि मित्र राष्ट्रहरूको सहायताको खोजी गरेको छ ।

श्रीलङ्काले कम्तीमा पनि १० घण्टाको दैनिक विद्युत् कटौती गरिरहेको छ । मार्च ८ देखि अमेरिकी डलरविरुद्ध श्रीलङ्काली मुद्राको वैधानिक तरलता अनुपात झन्डै ९० अङ्कले अवमूल्यन भएको छ । (रासस/एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?