पाकिस्तानको संसद् विघटन गर्न सिफारिस


इस्लामावाद : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गर्न सिफारिस गर्नु भएको छ । उहाँले संसद्‌मा आफू विरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गर्नु भएको हो ।

सञ्चार माध्यमसँगको कुराकानीका क्रममा उहाँले आफूले संसद् विघटन गर्न लागेको र त्यसको प्रक्रियाका लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको जानकारी दिनुभयो ।

उहाँले संसद् विघटन गर्दै नयाँ संसद् गठनका लागि निर्वाचन गर्न समेत सिफारिस गरिएको बताउनुभयो ।

विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उहाँले स्पष्ट पार्नु भयो ।

पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उहाँ नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गर्नु भएको छ ।

उहाँले यसअघि शनिबार राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमाथि मतदान हुनु अगाडि राष्ट्रव्यापी विरोधमा उत्रन आग्रह गर्नुभएको थियो ।

विपक्षले आफु विरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उहाँले यसलाई देशमाथि गरिएको ‘धोका’ को सज्ञा दिनुभएको थियो ।

उहाँले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताउनुभएको छ ।

खानले प्रतिपक्षी दलका नेताहरूले आफूहरूविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिने चेतावनी पनि दिनुभएको छ ।

खानमाथिको अविश्वासको प्रस्तावमाथि आइतबार संसद्मा छलफल हुने कार्यक्रम तय भएको थियो । उहाँले आफ्नो ज्यान जोखिममा रहेको र विपक्षीले चरित्र हत्या गरिरहेको आरोप पनि लगाउनु भयो ।

“म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्,” पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भन्नुभयो ।

प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताउनु भएको छ । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?