सुर्खेतमा ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने


कर्णाली: सुर्खेतका नौ स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा यहाँका ९६ हजार ४६७ बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जानकारी दिइयो । कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमका अनुसार देशैभरि एक चरणमा यही चैत २५ गतेदेखि आगामी वैशाख १८ गतेभित्र सम्पन्न गर्ने गरी तय भएको मितिअनुसार खोप लगाइनेछ ।

उहाँले सुर्खेतका सिम्ता गाउँपालिकाका सात हजार ८४१, चिडगाड गाउँपालिकाका पाँच हजार ९१५, लेकबेँसी नगरपालिकामा आठ हजार ३९७, गुर्भाकोट गाउँपालिकामा १२ हजार ९९७, भेरीगङ्गा नगरपालिकामा ११ हजार ८१९, वीरेन्द्रनगर नगरपालिकामा २२ हजार २३९, बराहताल गाउँपालिकामा सात हजार ८३५, पञ्चपुरी नगरपालिकामा १० हजार ६२६ र चौकुने गाउँपालिकामा आठ हजार ७९८ बालबालिकालाई खोप लगाइने जानकारी दिनुभयो ।

कार्यालय प्रमुख गौतमका अनुसार सुर्खेतमा एक लाख ३५ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाउने अनुमान गरिएको छ । “खोप अभियानमा लक्षित समूह मुख्यरूपमा ८० प्रतिशत विद्यालय नै रहनेछ”, उहाँले भन्नुभयो, “हामी सुर्खेतमा पहिलो, दोस्रो र तेस्रो चरण गरेर बालबालिकालाई खोप लगाउने छौँ ।”

नेपालमा १५ वर्षमुनिका बालबालिकामा सङ्क्रमण दर ११ गुणा बढी रहेको जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी अमर राना मगरले बताउनुभयो । बालबालिकामा सरसफाइ र स्वच्छताको कमी हुने भएकाले टाइफाइड रोगबाट बालबालिकामा सङ्क्रमण दर बढी भेटिने गरेको उहाँको भनाइ थियो ।

टाइफाइडविरुद्धको खोप अभियान
त्यस्तै रुपन्देहीमा यही चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई सो अभियान अन्तर्गत खोप लगाइने छ ।

स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा दुई लाख ६६ हजार ५१८ बालबालिका छन् । उनीहरूका लागि ९६६ खोप केन्द्रबाट अभियान सञ्चालन गरिने भएको हो । उक्त अभियान सञ्चालनका लागि एक हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ सुपरीवेक्षक, ११ जिल्ला सुपरीवेक्षक तथा छवटा सहयोग सङ्घसंस्था परिचालन गरने छ । बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप केन्द्र विद्यालयमा राखिएको छ ।

लुम्बिनी प्रदेशका अन्य जिल्ला कपिलवस्तु र नवलपरासीमा चैत २२ गतेदेखि तथा दाङ, बाँके, बर्दिया, पाल्पा र रोल्पामा चैत २३ गतेदेखि खोप अभियान सञ्चालन हुने छ । यसैगरी रुकुमपूर्व, अर्घाखाँची र प्यूठानमा चैत २५ गतेदेखि खोप अभियान सञ्चालन हुने छ । देशभर चैत २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भनिए पनि विद्यार्थीको वार्षिक परीक्षा सञ्चालन भइरहेका कारण सम्बन्धित जिल्लाको सहजताअनुसार फरक–फरक मितिमा अभियान सञ्चालन गरिने लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले बताउनुभयो ।

दिसा मिसिएको, दूषित पानी तथा खानाका कारण लाग्ने टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलोपटक खोप सञ्चालन गर्न लागिएको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?