आधुनिक डिजिटल प्रविधिबाट पठनपाठन


राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालय प्रविधि मैत्री विद्यालयका रुपमा परिचित भएको छ । आधुनिक डिजिटल प्रविधि प्रयोग गरी विद्यालयमा पठनपाठन हुँदै आएको हो । परम्परागत शिक्षालाई रुपान्तरण गरी प्रविधिमा आधारित कक्षा सञ्चालन हुँदै आएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र पाण्डेयले बताउनुभयो ।

“किताबी ज्ञानभन्दा विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदानमा जोड दिएका छौँ,” उहाँले भन्नुभयो, “विद्यार्थीका लागि स्मार्ट बोर्डसहितको कक्षा कोठा निर्माण गरी पढाइ हुँदै आएको छ ।” सहायक प्रधानाध्यापक पाण्डेयका अनुसार गणित विषयलाई निकै जटिल विषयका रुपमा चित्रण गरिने भएकाले यसलाई सरल र सहज रुपमा विद्यार्थीलाई सिकाउनका लागि आधारभूत तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीलाई पूर्ण रुपमा डिजिटल माध्यमबाट पठनपाठन गर्नसक्ने व्यवस्था गरिएको छ ।
“विद्यार्थीले गणित विषय विद्यालयमा पढ्छन् । नबुझेका कुरा सिकाउनका लागि शिक्षकद्वारा निर्माण गरिएका डिजिटल सामग्री इन्टरनेटमा राखिएको छ,” उहाँले भन्नुभयो, “त्यसबाटै विद्यार्थीले सिक्ने गरेका छन् । इन्टरनेटका माध्यमबाट पाठ्य सामग्री हेर्न सक्ने गरी विषयवस्तु राखेका छौँ ।”

विद्यार्थीको शैक्षिक गुणस्तर बढाउनका लागि निर्माण गरिएको वेबसाइटमा शिक्षासँग सम्बन्धित १५ वटा वेबसाइट खोल्न सकिने व्यवस्थासमेत गरिएको छ । कक्षा १० मा अध्ययनरत विद्यार्थी राजेन्द्र अवस्थीले स्मार्ट डिजिटल बोर्डमा सिकाइ हुने भएकाले पढाएका कुरा बुझ्नका लागि निकै सहज हुने गरेको बताउनुभयो । “ कालोपाटीमा शिक्षकले ज्यामिती पढाउँदा बुझ्न कठिन हुन्थ्यो,” उहाँले भन्नुभयो, “डिजिटल बोर्डमा प्रविधि प्रयोग गरी सिकाइने भएकाले बुझ्न निकै सहज भएको छ । शिक्षकले निर्माण गरेका डिजिटल शैक्षिक सामग्री वेबसाइटबाट समेत हेर्न मिल्ने भएकाले नबुझेका कुरा घरमै हेरेर बुझ्ने गरेका छौँ ।”

विद्यालयका शिक्षकले वेबसाइटमा शैक्षिक सामग्री, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षासम्बन्धी ऐन, निर्देशिका, विशिष्टीकरण तालिका, स्वअध्ययन सामग्री, पठनपाठनका विभिन्न स्लाइडहरु, उपयोगी लिङ्क, विभिन्न शिक्षाविदका लेखरचनाहरु वेबसाइटमा राखिएका छन् । आधारभूत तहका विद्यार्थीलाई चित्रका माध्यमबाट पठनपाठन गर्नका लागि प्रोजेक्टरको समेत प्रयोग हुने गरेको छ । “बदलिँदो परिवेशसँगै शिक्षामा समेत आमूल परिवर्तन हुन आवश्यक छ,” विद्यालय व्यवस्थापन समितिका सदस्य तेजबहादुर शाहले भन्नुभयो, “यसै कुरालाई मध्यनजर गर्दै विद्यालय शिक्षालाई डिजिटलाइजेशन गर्न लागेका छौँ । शिक्षालाई गुणस्तरीय बनाउनका लागि प्रविधिमा विशेष जोड दिई अगाडि बढ्दैछौँ ।”

विद्यालयमा डिजिटल विधिबाट पठनपाठनको कार्य प्रभावकारी भए नभएका बारेमा समेत अध्ययन गरिँदै आएको जानकारी दिँदै उहाँले अवस्था अध्ययन गर्दा विगतको परम्परगत विधिको तुलनामा विद्यार्थीमा सिक्ने उत्सुकता पाइएको बताउनुभयो । विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या घटेको छ । पठनपाठनमा विद्यार्थीको रुचि बढ्दा उत्तीर्ण प्रतिशत बढ्नाका साथै नतिजामा सुधार हुँदै गएको पाइएको छ । विद्यार्थीको शैक्षिक अवस्थाबारे जानकारी लिनका लागि त्रैमासिक, अर्धवार्षिक, वार्षिक परीक्षाको नतिजा वेबसाइटमै राखिने गरिएकाले अभिभावकले घरमै बसेर बालबालिकाको शैक्षिक अवस्थाबारे जानकारी पाउने गरेका छ ।

नजिकैको झलारी बजार क्षेत्रमा आधा दर्जनभन्दा बढी निजी विद्यालय सञ्चालन भइरहेका छन् । सामुदायिक विद्यालयका विद्यार्थीको आकर्षण निजी विद्यालयतर्फ हुनुपर्नेमा प्रविधि मैत्री शिक्षा प्रणालीलाई आत्मसात् गर्दा विद्यालयमा विद्यार्थीको सङ्ख्या प्रतिवर्ष बढ्दो रुपमा रहेको प्रधानाध्यापक लक्ष्मी थापा ऐरले बताउनुभयो । उहाँका अनुसार विद्यालयममा आधारभूत तहदेखि माध्यमिक तहसम्म ५७३ विद्यार्थी पठनपाठन गर्दै आएका छन् जसमा छात्राको सङ्ख्या ३४२ र छात्रको सङ्ख्या २३१ छ ।

विद्यालयमा बाहुन क्षेत्री समुदायका २७१ र जनजातिका १०६ र दलितका १९६ विद्यार्थी अध्ययनरत छन् । प्राविधिक शिक्षाका रुपमा विद्यालयमा आइएस्सी, एजी र कृषि जेटिएका कक्षाहरुसमेत सञ्चालन हुँदै आएका छन् । प्राविधिकतर्फका कक्षामा ८८ विद्यार्थी पठनपाठन गर्दै आएका छन् । कृषितर्फका कक्षाका लागि प्रयोगात्मक शिक्षा प्रदान गर्न थोपा सिँचाइ, प्लाष्टिक टनेल, एग्रोनमी तीनवटा प्रयोगशाला छन् । विद्यालयमा १४ स्थायी, दुई अस्थायी, दुई निजी स्रोतबाट सञ्चालित शिक्षक छन् ।

विद्यालयमा भलिबल कोर्ट, खेलमैदान, पुस्तकालय, विज्ञान प्रयोगशाला पनि बनाइएका छन् । विद्यार्थीलाई कम्प्युटरसम्बन्धी शिक्षा दिन ५० वटा कम्प्युटरसहितको ल्याबको व्यवस्था गरिएको छ । सत्ताइस हजार ८४७ वर्गमिटरमा फैलिएको विद्यालयको गतिविधिलाई नियाँल्न विद्यालय छिर्ने प्रवेशद्वारदेखि विद्यालयका विभिन्न ठाउँमा गरी नौवटा सिसिटिभी क्यामेरासमेत राखिएका छन् । विद्यालयका सम्पूर्ण क्षेत्र कम्प्युटरमा हेरेर नियाँल्न सकिने बनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?