स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको सम्म्झौता


चितवन: भरतपुर महानगरपालिकाभित्र रहेका विद्यालयमा स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको सम्झौता भएको छ । महानगरपालिका र जिल्ला प्रहरी कार्यालयले शुक्रबार यहाँ आयोजना गरेको शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्री २०७८ सम्बन्धी अभिमुखीकरण एवं समझदारीपत्रमा हस्ताक्षर समारोहमा महानगरका विद्यालयका प्रध्यानाध्यापकले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको रोहवरमा विद्यालयका प्रध्यानाध्यापक, जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी र महानगरको शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौतापत्रमा हस्ताक्षरपछि शैक्षिक संस्थाको नेतृत्वका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्रीसमेत सार्वजनिक गरिएको थियो ।

सामग्री सार्वजनिकसँगै हरेक विद्यालयका प्रध्यानाध्यापकलाई पुस्तकसमेत हस्तान्तरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले पछिल्ला समयमा विद्यालयमा हुने गरेका अपराध नियन्त्रणका लागि यो पाठ्यसामग्री तयार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो पुस्तक अपराध नियन्त्रणका लागि महत्वपूर्ण बन्ने छ ।” पछिल्ला दिनमा विद्यालयमा हुने गरेका यौन हिंसाका घटना र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि विद्यालयका प्रध्यानाध्यापकसँग सम्झौतापत्रमा हस्ताक्षर गरिएको उहाँको भनाइ थियो ।

सो अवसरमा महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले समाजमा हुने अपराध नियन्त्रणमा पाठ्यसामग्री बहुउपयोगी बन्ने बताउनुभयो । सामाजमा हुने गरेका अपराध नियन्त्रणमा सहयोगी पुस्तक पाठ्यसामग्री विद्यालयमा पु¥याउनु महत्वपूर्ण काम भएको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी तामाङले समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग गर्न विद्यालयलाई आग्रह गर्नुभयो । विद्यालयमा हुने अपराध र विद्यार्थीलाई प्रयोग गरेर गरिने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि यो पाठ्यसामग्री महत्वपूर्ण हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । अहिले ठूलो सङ्ख्यामा बालबालिका लागुऔषधको प्रयोगकर्ताका रूपमा रहेको भन्दै उहाँले यसलाई रोक्नका लागि प्रहरी–विद्यालय सम्पर्क समिति गठन गर्नसमेत अनुरोध गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?