भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले  ७२ औं भारतीय सांस्कृतिक सम्बंध परिषद (आइसीसीआर) स्थापना दिवस मनायो


भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले यही २०७८ चैत्र २६ गते काठमाडौंको नक्सालस्थित होटल मेरियटमा ७२ औं भारतीय सांस्कृतिक सम्बंध परिषद (आइसीसीआर) स्थापना दिवस मनायो । आइसीसीआरका पूर्व विद्यार्थीहरुबीच मित्रताको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यका साथ हाल जारी India @75  आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।


प्रख्यात राजनीतिज्ञ डा. शशांक कोइराला, प्रसिद्घ अभिनेत्री मनीषा कोइराला र नेपालका आइसीसीआरका पूर्व विशिष्ट विद्यार्थीहरुको उपस्थितिमा नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा नेपालबाट आइसीसीआरका दुई प्रतिष्ठित पूर्व छात्रहरु–काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत श्री निलेश प्रधानले भारतमा अध्ययन गर्दाका आफ्ना अनुभवहरु सुनाउनु भयो । बहुचर्चित अभिनेत्री मनीषा कोइरालाले पनि कार्यक्रममा आफ्ना बाल्यकाल र भारतमा प्रारम्भिक शिक्षा लिदा बटुलेका अनुभवहरु सबैसँग साट्नुभयो । विश्वभर छरिएर रहेका आइसीसीआरका पूर्व विद्यार्थीहरुको अनुभवलाई संकलन गरी भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?