नेकपा (एस) को घोषणापत्र सार्वजनिक


काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार यहाँ आयोजित समारोहमा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गर्दै पार्टीका उम्मेदवारले नेतृत्व गरेका स्थानमा स्थानीय सरकारमार्फत प्रत्येक घरपरिवारलाई २०० युनिटसम्म बिजुली निःशुल्क दिने र यसका लागि सङ्घीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिने घोषणा गर्नुभयो ।

विद्युत् सेवा नपुगेका हरेक घरमा आधारभूत विद्युत् सेवा पु¥याइने भन्दै उहाँले स्थानीय सरकारको बजेटमा पहिलो प्राथमिकतामा स्वास्थ्य, शिक्षाका साथै खानेपानी निःशुल्क गर्ने योजना रहेको बताउनुभयो । घोषणापत्रमा नेपाल नेतृत्वको सरकारले गरेका काम, विसं २०५१ मा एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैँ बनाऔँलगायतका कार्यक्रम समावेश गरिएको छ । स्थानीय सरकारका काममध्ये निःशुल्करूपमा आमजनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने उल्लेख छ ।

उक्त पत्रमा भनिएको छ, “हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी निःशुल्करूपमा उपलब्ध गराइने छ । खानेपानी नपुगेका स्थानमा पिउने पानी अनिवार्यरूपमा पु¥याइने छ ।”

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठनका कारणलाई प्रष्ट पारिएको घोषणापत्रमा देशको आन्तरिक उत्पादनबिना आत्मनिर्भर तथा दिगो अर्थतन्त्रको विकास सम्भव छैन । कृषि उत्पादनपछि स्थानीय साधन–स्रोत प्रयोग गरेर सुरु गर्न सकिने औद्योगीकरण भनेको घरेलु तथा ग्रामीण उद्योग नै भएको उल्लेख छ । पालिकाले आफ्नो भूगोलभित्र के कस्ता घरेलु तथा ग्रामीण उद्योग खोल्नका लागि स्थानीय उद्यमीलाई प्रेरित गर्नु उपयुक्त हुनेछ भन्ने विषयमा गहन अध्ययन गर्ने, उत्पादित वस्तुको बिक्री हुने व्यवस्थाबारे लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?