जेठ १ गतेदेखि शनिबार र आइतबार सरकारी बिदा


काठमाडौं । सरकारले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार साताको दुई दिन सरकारी कार्यालयहरु बन्द गर्ने अर्थात् बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिएका छन् ।

उनका अनुसार सरकारी कार्यालयको समयावधि भने बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म हुनेछ । यसअघि बहुदलकालमा पनि शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुँदा यस्तै प्रकारको निर्णय गरेको थियो । त्यतिबेला सामान्य प्रशासनमन्त्री सिद्धराज ओझा थिए । उनले तत्कालीन प्रतिनिधिसभामा साताको दुई दिन सरकारी कार्यालय बन्द गर्दा सरकारको फजुल खर्चका साथै पेट्रोलियम पदार्थको खपतमा भारी कमी आउने तर्क गरेका थिए । तर त्यतिबेलाको सो निर्णय केही काल बित्न नपाउँदै नेपालको सन्दर्भमा व्यवहारिक र उपयुक्त नभएको भन्दै खारेज गरिएको थियो ।

सरकारको उक्त निर्णयको तत्कालै सर्वत्र विरोध भएको थियो । सरकारको अहिलेको यो ताजा निर्णयलाई समाजका विभिन्न अंगले अब कसरी अख्तियार गर्नेछन् प्रतीक्षाकै घडी भएको छ । साताको दुई दिन बिदा दिने सरकारको नवीनतम निर्णयलाई भने अन्तर्राष्ट्रिय प्रचलनसँग जोडिएको छ । नेपाल र केही मुलुकबाहेक संसारका अधिकांश मुलुकमा शनिबार र आइतबार दुई दिन बिदा दिने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?