मे महिना अमेरिका र युरोपलाई महाकाल, के रुसलाई सहकाल ?


उज्ज्वल झा
काठमाडौं । अन्तर्राष्ट्रिय भू–राजनीतिक मञ्च मे महिनामा परमाणु युद्ध हुन सक्ने अड्कल वा आशंकाबाट प्याप्त छ । रुस–युक्रेनबीच जारी युद्ध घटनाक्रमको स्वरुपलाई विश्लेषण गर्दै रक्षा विशेषज्ञहरुले परमाणु युद्धको आँकलन गरेका हुन् ।

मे महिना रुसका लागि महत्वपूर्ण महिना मानिन्छ । दोस्रो विश्व युद्धताका मे ९ तारिखका दिन रुसी सेनाले जर्मनका तानाशाह हिटलरी फौजमाथि विजय हासिल गरेर रुसले आफ्नो वर्चश्व कायम गरेका थिए । तदुपरान्त, रुसले सम्झना स्वरुप प्रत्येक वर्षको मे ९ मा आफ्नो सैन्य शक्तिको शौर्य प्रदर्शन गर्दै आएको छ । आगामी मे ९ का लागि पनि रुसमा पुटिन प्रशासन भव्य तयारीमा जुटेका छन् । रुसी परम्परा अनुसार मे ९ तारिखका दिन रुसी शासकहरुले आफ्ना जनताका लागि उपहार स्वरुप केही न केही राहत घोषणा गर्दै आएका छन् ।

पूरै रुसमाथि आफ्नो सत्ता नियन्त्रण राख्न सफल भ्लादिमिर पुटिनले यसपटक रुसी जनताका लागि विशेष उपहारको घोषणा गर्ने पूर्वअनुमान गरिएको छ । पुटिनको त्यो उपहार के हुन सक्छ भनी अमेरिका र पश्चिमा मुलुकका रक्षा विशेषज्ञहरुले अहिले नै पुटिनको मनोविज्ञानमाथि अध्ययन र अनुमान गर्दै गर्दा उनीहरु यो निष्कर्षमा पुगेका छन् कि यसपटक उपहारको घोषणा सिँगै युक्रेनमाथि विजयी वा पूर्वी युक्रेनको डोनवास (डोनेत्स्क र लुहान्स्क) क्षेत्र पूरा नियन्त्रणमा आएकाले रुस अब अमेरिका वा नाटो मुलुकको सुरक्षा चेतावनी (सेक्युरिटी थ्रेट) भित्र नपर्ने दावी गर्न सक्छन् ।

पश्चिमा रक्षा विशेषज्ञहरु यो कुरामा सहमत छैन कि अहिलेको युद्धावधिमा रुसले सिँगै युक्रेनमाथि विजय हासिल गर्न सक्नेछ । किनभने पूर्वी युक्रेनको डोनवास क्षेत्रमा अहिले पनि युक्रेनी सेना र रुसी फौजबीच दोहोरो संघर्ष जारी छ । त्यहाँ एक अर्काको दावीलाई पुष्टि गर्ने आधार स्वतन्त्र पर्यवेक्षकसँग पनि छैन ।

विश्व भू–राजनीतिमा मे महिना यसकारण पनि महत्वपूर्ण हुँदैछ कि अस्ट्रेलियामा चुनावी प्रक्रिया हुँदैछ । खुलेर रुसको विरोधमा उत्रेका प्रधानमन्त्री स्कट मोरिसनलाई चुनावमा जित्न रुसमाथि कडा कदम चालिएको सन्देश दिनुछ । यस्तै मोरिसनको अगाडि ताइवानको मुद्दा पनि ज्यूकात्यूँ छ । रुस र चीनविरुद्ध कडा कदम चालेको छाप अस्टे«लियाई नागरिकमा बस्न सक्यो भने मोरिसनका लागि चुनाव जित्न सजिलो पर्ने अनुमान छ । जे होस्, अहिले अस्ट्रेलियाले आफ्नो छवि रुस र चीनविरोधीको रुपमा बाँकी संसारमा चित्रित गरेको छ ।

मे महिनाको अर्को महत्वपूर्ण पक्ष ब्रिटेनसँग जोडिएको छ । ब्रिटेनमा पनि आम चुनाव अक्टोबरमा हुँदैछ, तर मे महिनामा त्यहाँका राजनीतिक दलहरुले जनातामाझ जाने आरम्भिक घोषणा गर्ने छन् । रुसका लागि अमेरिकाभन्दा पनि दुश्मन नम्बर १ को रुपमा जानिने ब्रिटिसका प्रधानमन्त्री बोरिस जोनसन्सले बारम्बार भन्दै आएका छन् कि, “रुसले युक्रेनमा कुनै पनि हद वा सीमा नाघेको खण्डमा उसमाथि स्थानविशेष (ट्याक्टिकल न्युक्लियर विपन) परमाणु हमला गर्न पछि पर्नु हुँदैन ।” जोनसन्सको उपरोक्त भनाइलाई दृष्टिगत गरेर रुसले पनि कडा चेतावनी जारी गरेको थियो । रुसको चेतावनीको मनसाय यहाँसम्म थियो कि, उसले युक्रेनलाई भन्दा पनि पहिले ब्रिटेनमाथि परमाणु हमला गर्न सक्छ । युक्रेनी सैनिक ब्रिटिस घातक हतियारका कारण उनको शक्ति र क्षमतामा अभिवृद्धि भएको छ । युद्धमा युक्रेनका लागि ब्रिटिस हतियार वरदानी सावित भएको छ । ती नै हतियारको बलमा युक्रेनी सेनाले कैयन रुसी ट्यांक र युद्धक वहान (आरमर्ड भेहिकल)
लाई ध्वस्त पारेका छन् । यो देखेर रुसी रक्षा क्षेत्रको सन्तुलन बिग्रेको छ । त्यसकारण पनि रुसका लागि ब्रिटेन अमेरिकाभन्दा पनि शत्रु नम्बर एक भएको हो ।

मे महिना फेरि पनि यसकारण महत्वपूर्ण छ कि, सम्भवतः स्वीडेन र फिनल्यान्डले मे १ तारिखका दिन नाटोको सदस्यता लिन आवेदन गर्न सक्छ । यदि, स्वीडेन र फिनल्यान्डले नाटोको सदस्यता ग्रहण ग¥यो भने रुसको अगाडि ती दुई देशमाथि आक्रमण गर्नुबाहेक अन्य विकल्प बाँकी रहने छैन । यसभन्दा अघि रुसले फिनल्यान्ड र स्वीडेनमाथि सैन्य हमला गर्ने धम्की दिइसकेको छ । रुसी धम्कीको पछाडि स्वीडेन र फिनल्यान्डका लागि आफ्नो रक्षा खातिर नाटोको सदस्यता लिनु यसर्थ पनि अपरिहार्य भइसकेको छ । पश्चिमा रक्षा विश्लेषकहरुको भनाईमा रुसले फिनल्यान्ड र स्वीडेनमाथि आक्रमण गर्न सक्दैन किनभने रुसको युद्ध क्षमता र आर्थिक हैसियतलाई विचार गर्ने हो भने युक्रेनबाहेक रुस वर्तमान अवस्थामा अन्य क्षेत्रमा युद्धको ढोका खोल्न सक्षम हुने छैन ।

रुसी राष्ट्रपति पुटिनले हालै अमेरिका र उससँग आबद्ध राष्ट्रलाई चेतावनी जारी गर्दै भनेका थिए, “ रुस–युक्रेनबीचको मामिलामा युरेसिएन भालुसँग निहुँ खोज्ने काम नगर्नू, यदि निहुँ खोजेको खण्डमा परमाणु युद्धका लागि तयार भएर बस्नु ।” विश्वका देशहरुले जनावरहरुलाई आफ्नो राष्ट्रको प्रतीक चिह्न बनाएका छन् । रुसले पनि भालुलाई आफ्नो आत्मसम्मान र गौरवको रुपमा लिने गर्दछ । त्यसैकारण रुसले सन् १९८० को मस्को ओलम्पिकमा भालुलाई प्रतीक चिह्न (मस्कट) का रुपमा प्रयोग गरेको थियो । यस्तै, अमेरिकालाई चील, चीनलाई ड्रागन र भारतलाई हात्तिका रुपमा चिनिन्छ । पुटिनको परमाणु आक्रमणको धम्की केवल अस्थिरताका लागि (ब्रिंकम्यानसिप) नभई व्यवहारमा प्रयोगका लागि हो भन्ने विश्लेषण पनि गरिँदै आएको छ । किनभने रुसको परमाणु शक्तिसित बाँकी दुनियाँ भलीभाँती परिचित छ । हुन त रक्षा विशेषज्ञहरु परमाणु हतियार प्रयोगका लागि नभई मात्र तर्साउन (डेटोरेन्स) का लागि हो भन्छन् । तर रुस–युक्रेन युद्धको आजसम्मको अवस्थालाई तीलको गेडा झैँ केलाउने हो भने रुसका लागि युक्रेन तातो आलु सावित भइरहेको छ । विगत दुई महिनाको अवधिमा रुसले युक्रेनमाथि न त पूर्ण विजय हासिल गर्न सक्यो, न त रुसी चाहनाअनुरुप युक्रेनलाई विभाजन गरेर आफ्नो दबदबा नै कायम गर्न सक्यो । यसलाई रुसको कमजोरीका रुपमा चित्रण गरिएको छ । वास्तवमा भन्ने हो भने रुस–युक्रेन युद्धको अवस्था तुलनात्मक त्यस्तै देखिएको छ ।

रुसले पूर्वी युक्रेनको डोनवास क्षेत्रलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता त दिइसकेको छ, तर त्यहाँ अहिलेसम्म (युक्रेनको दृष्टिमा पृथक्तावादी) स्वतन्त्र राष्ट्ररुपी शासन, प्रशासन स्थापना गर्न सकेको छैन । यही रुसी अवस्थालाई अमेरिका र नाटो आबद्ध देशले गिज्याइरहेको छ । रुसको युद्ध रणनीति अनुसार आगामी मे ९ तारिखसम्ममा पूर्वी युक्रेनको डोनवास, समुद्रीतट ओडिसा, दक्षिणी भाग खारकीव र मारियुपोलमाथि विजय हासिल गर्न चाहन्छ । तर रुसीको उक्त अभीष्ट चाहनाले मूर्तरुप  लिन सकेको छैन । यस्तो अवस्थामा रुसले अब के गर्न सक्छ त भन्ने प्रश्न उब्जिनु स्वाभाविक हुन आउँछ । रुसको अहिलेको सैन्य क्षमता र युक्रेनलाई अमेरिका र युरोपीय मुलुकले दिँदैआएको सैन्य सहयोगलाई ध्यानमा राख्ने हो भने रुसका लागि युक्रेनको ती भाग निल्न नेपाली भनाईमा आकाशको फल आँखातरि मर भन्ने जत्तिकै भइराखेको छ । फेरि रुसलाई यो कुरा पनि जग जाहेर छ कि हतारोमा युक्रेनलाई विभाजन गरेको आधिकारिक रुपमा आधिपत्यताको घोषणा गरिहाल्यो भने भोलि डोनवासलगायत अन्य क्षेत्रमा उत्पन्न हुने जन प्रत्याक्रमण (सिभिल रिट्यालिएसन) को सामना गर्नुपर्ने हुन्छ । जुन रुसको अवस्था ठ्याक्कै अफगानिस्तानकै जस्तै हुनेछ । अफगानिस्तानमा रुस तालिबानसँग टिक्न नसकेर पराजित भएका थिए । यस्तो अवस्थामा रुसका अगाडि अब के–कस्तो विकल्प बाँकी रहन्छ त भन्ने परिप्रेक्ष्यमा भन्ने हो भने रुस बाध्य भएर स्थानविशेष मात्र असर गर्ने (ट्याक्टिकल न्युक्लियर विपन) परमाणु युद्धतर्फ अग्रसर नभई नहुने अवस्था सिर्जना हुन्छ । यस्तो अवस्था आयो भने रुसका राष्ट्रपति पुटिनको पूर्ववर्ती भनाईले सार्थकता पाउने छ, त्यो भनेको रुसबिनाको संसार रह्यो भने हामीलाई यो पृथ्वी नै चाहिँदैन् । यो एक खतरनाक परिस्थिति हो । त्यो दिन साँच्चिकै पृथ्वीवासीका लागि अन्तिम दिन (डुम्स डे) हुनेछ । परमाणु युद्ध रुसका लागि सहकाल र अमेरिका र युरोपका लागि महाकाल अवश्य पनि हुने छैन । यस्तो परिस्थितिमा विश्व समुदायको भूमिका के–कस्तो हुनेछ हेर्न बाँकी नै छ । शक्ति सम्पन्न राष्ट्रहरुले कूटनीति र संवादको माध्यमलाई कारगर जोडबल गर्ने स्थिति सबैका सामु आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?