गठबन्धनप्रति शंका–उपशंका नगर्न प्रधानमन्त्री देउवाको आग्रह


पोखरा  । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्छ भन्नुभयो ।

गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको जनाउँदै उहाँले भन्नुभयो, “गठबन्धन बन्नु अघि हाम्रो कस्तो अवस्था थियो, आज कांग्रेसको नेतृत्वमा सरकार छ सबै पार्टी मिलाएर बसेको छ ।” गठबन्धनमा शङ्का, उपशङ्का गर्नुपर्ने अवस्था नरहेको जनाउँदै उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी ) अध्यक्ष माधव नेपाल एवं गठबन्धनका दलले उदार भएर कांग्रेसलाई सहयोग गरेका छन्”, भन्नुभयो ।

उहाँले गठनबन्धनले छ महानगरमध्ये तीनवटा महानगरको नेतृत्व कांग्रेसलाई दिएको बताउनुभयो । महानगर मात्र नभई हरेक पालिकामा गठबन्धनलाई विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो । गठबन्धनलाई विजयी बनाउनका लागि कांग्रेसी कार्यकर्ता गठबन्धनका अन्य दललेभन्दा पनि मेहनतका साथ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको लोकतान्त्रिक र वामपन्थी गठबन्धन इतिहासको लामो कालखण्डमा खारिँदै आएको र प्रत्येक मोडमा आफ्नो विचार र व्यवहारबाट नै जनताको विश्वास जित्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धन गरेर हामीले राम्रो र सही काम गरेका छौँ । कांगेस र कम्युनिष्ट मिलेर नै विसं २००७ र विसं २०४६ सालको परिर्वतन गरेका हौँ । विसं २०६२ को जनआन्दोलन सफल पारेर गणतन्त्र स्थापना गर्दै संविधानसभाको चुनाव र संविधान निर्माण गरेर घोषणा पनि गठबन्धनबाट नै सम्भव भएको हो ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दक्षिणपन्थी र संविधान विरोधी गठबन्धन गर्दैै दुई÷दुई पटक संविधानको गलत व्याख्या गरेर प्रधानमन्त्रीको अधिकारको दुरुपयोग गरेर संसद् विघटन गरेको आरोप लगाउनुभयो ।

अध्यक्ष नेपालले पोखरालाई पर्यटकीय नगरमा विकास गर्ने, तालतलैयाको संरक्षण र बस्तीलाई राम्रो बनाउने, रोजगारी प्रवद्र्धनसहित शिक्षा, र स्वास्थ्यका क्षेत्रमा विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । भ्रष्टाचार नगर्ने, सुशासनको प्रवद्र्धन, जनताको मन जित्ने, विश्वास जित्ने र जनतासँग निरन्तर भेटघाट गरिरहनसमेत उहाँले उम्मेदवारलाई सुझाव दिनुभयो ।

संसारलाई आकर्षित गर्नसक्ने पोखरा महानगरको प्रमुख÷उपप्रमुख पद धेरै महत्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले फेवाताललाई जोगाउने र अतिक्रमण हटाउनु आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले तालको अतिक्रमण नहटाउँदासम्म पोखराको आफ्नो पहिचानलाई जोगाउन नसकिनेसमेत उल्लेख गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?