स्थानीय तह निर्वाचनः थोरै खुसी, धेरै अपेक्षा


पेमा लामा
बनेपा: घरआँगनमै धारा छ, तर पानी आउँदैन, त्यसैले त्यही सुक्खा धारा हेर्दै खोलाबाट ओसारेको पानीले घरको काम चलाउनुपर्छ, यहाँका स्थानीय बासिन्दालाई ।

बेलाबखत आउने पानीको भर नभएपछि ओसारेको पानीले भाँडा माझ्ने र खाना पकाउने गर्नुपरेको स्थानीयवासी कृष्णमैया दाहालले बताउनुभयो । उमेरले ८५ वर्ष पुग्नुभएकी उहाँले अब निर्वाचित हुने जनप्रतिनिधिले व्यहोर्नुपरेको खानेपानी समस्या समाधान गरिदिए धेरै राम्रो हुने अपेक्षा राख्नुभयो ।

यो समस्या हो, काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ च्याम्राङबेँसीका स्थानीय बासिन्दाको । गाउँको दुईतिर बगिरहेको खोल्साले घेरिएको भए पनि खानेपानी धाराको उचित व्यवस्थापन नहुँदा खोल्साबाट ओसारेको पानीले समस्या टार्नुपरेको स्थानीयवासीको भनाइ छ ।

वृद्धा दाहालले दल र दलका प्रतिनिधि भोट माग्न आइरहेको भए पनि आफ्नो समस्या समाधान गरिदिन्छु भन्नेहरू नआएको गुनासो गर्नुभयो । “जो आउनुहुन्छ, म र हामीलाई नै भोट दिनुस् भन्नुहुन्छ”, उहाँले भन्नुभयो, “आँगनमा धारा छ, पानी आउँदैन, आफ्नो कुरा राखेर जानुहुन्छ ।” आँगनमा धारा भए पनि राति अलिअलि आउने र अरु बेला बोकेरै पानी ल्याउनुपर्ने बाध्यतामा रहेका आफूहरूका लागि सहयोग गरिदिए धेरै खुसी हुने उहाँको भनाइ छ ।

बेथानचोक गाउँपालिका–१ कलाङसिङका अर्जुन दुलालले गएको पाँच वर्षमा विद्यालय भवन, खानेपानी र मोटरबाटो अलिअलि बनेकामा खुसी व्यक्त गर्दै अब अरु नयाँ काममा राम्रो गर्नुपर्ने बताउनुभयो । “बनेको मोटरबाटो बर्खामा पनि सधैँ चल्ने बनाउनुपर्ने, खोलामा पुल हाल्नुपर्ने, टेलिकमको टावरले सेवा नदिएका कारण सञ्चार सम्पर्क नभएकाले त्यसलाई सेवा दिने खालको बनाउनु आवश्यक छ ।”

पछिल्लो समयमा मोटरबाटो खोलेर सहज महसुस गरिए पनि बालबालिकालाई पढ्न जानका लागि एक÷डेढ घण्टाको बाटो भएर विद्यालय जानुपर्ने बाध्यता अझै छ । “बालबालिकाका लागि कक्षा ५ सम्म पढ्न गाउँमै विद्यालय खुलेको भए पनि कक्षा ६ देखि माथि पढ्नका लागि करिब एक–डेढ घण्टाको बाटो हिँडेर च्याम्राङबेँसी पुग्नुपर्छ”, उहाँले भन्नुभयो, “आवतजावतका सहज बाटो र विद्यालयमा खाजा खुवाउने व्यवस्था गरिदिए ग्रामीण दूरदराजका बालबालिकाले आफ्नो भविष्य उज्ज्वल बनाउन सहज ढङ्गले अध्ययन गर्न पाउने थिए ।”

च्याम्राङबेँसीकै पार्वती दाहालले पछिल्लो समयमा खुलेको मोटरबाटो हिउँदमा चल्ने र बर्खायामभरि बन्द हुने भएकाले सधैँ चल्ने बनाइदिए ग्रामीण जनताले स्थानीय सरकार घरआँगनमै आएको हो कि भन्ने आभाष गर्न पाउने थियो होला भन्नुभयो । “मोटर बाटोसँगसँगै अहिले पनि यहाँका बासिन्दाले सञ्चार सुविधाको उचित उपभोग गर्न नपाएको अवस्थामा त्यसको व्यवस्थान गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “गाउँको दुईतिर बग्ने खोला भए पनि गाउँलेले खानेपानी उपभोग गर्न पाएको छैन्, नियमित बाटो सञ्चालन नहुँदा यहाँका तरकारी, दूध फाल्नुपर्ने बाध्यताको अन्त्यका लागि आवश्यक पहल गर्न जरुरी छ ।”

यसअघि पनि बाटो, पानी, सञ्चार, बिजुलीलगायत समस्या समाधान गर्ने बताउँदै मत मागेका जनप्रतिनिधिले निर्वाचित भएर अलिअलि काम गरेकै थिए, फेरि पनि नयाँ–नयाँ उम्मेदवार भोट माग्न आउने क्रम चलिरहेकाले अरु थप केही विकासको काम गरिदिन्छन् कि भन्ने आशामा रहेको उहाँको भनाइ छ ।

पनौती नगरपालिसँगै जोडिएको गाउँपालिका भए पनि यस पालिकाको विशेषगरी वडा नं १, ५ र ६ निकै विकट छ । वडा नं १ साविक च्याम्राङबेँसी भूगोलका हिसाबले पनि डाँडापारि परेका कारण मोटरबोटो, सञ्चार र विद्यालयमा बालबालिकालाई पठाउन कठिन रहेकाले अब आउने जनप्रतिनिधिले यसतर्फ विशेष ध्यान पु¥याउनुपर्ने स्थानीयवासी जोड दिएका छन् । बाटो बन्द भएपछि बिरामी पनि बोकेरै लैजानुपर्ने बाध्यता अन्त्यका लागि ध्यान दिन उनीहरुको माग छ ।

यहाँका मुख्य पेशा कृषि हो । यसबाट नै स्थानीयवासीले वर्षभरि धान्ने अन्नपात उब्जाउ गरेर जीविकोपार्जन गर्नुपर्छ । तर उत्पादन भएको अन्नपात, तरकारी र दूधलाई बजारसम्म सहजरूपमा लैजाने गरी यातायातको साधन नचल्दा जोखिम मोलेर बोकेर लैजानुपर्ने बाध्यता रहेको छ । स्थानीय तह निर्वाचनका लागि बेथानचोबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बन्नुभएका भगवान् अधिकारी र तारा राना तिमल्सिनाले भने ‘शिक्षातर्फ महिला पहिला’ कार्यक्रमलाई अगाडि बढाइने र आधारभूत शिक्षाका लागि बालबालिकाले बढीमा २० मिनेटको दूरीमा पुग्न सक्ने गरी हाल सञ्चालनमा रहेका निजी तथा सामुदायिक विद्यालयको स्थान्तरण एवं व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै एक विपन्न परिवार, एक निःशुल्क तालिमको अवसर कार्यक्रम, एक टोल एक शिशु स्याहार केन्द्रको स्थापना, शिक्षाको मूलधारबाट बाहिर परेकालाई खुला विद्यालयको स्थापना र बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने विषयलाई प्रतिबद्धतापत्रमा उल्लेख गरिएकोे छ ।

त्यसैगरी स्वाथ्यतर्फ प्राविधिक जनशक्ति उत्पादनमा लगानी गरिने, १५ मिनेटभित्रमा एम्बुलेन्सको पहुँच हुने गरी सार्वजनिक निजी साझेदारीमा ग्रामीण एम्बुलेन्सको व्यवस्थापन गर्ने, सुत्केरी आमा पोषिलो खाना कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य बिमा गराई नियमित उपचार एवं ठूला जटिल रोगको उपचारलाई सहज बनाइने, पालिकास्तरीय आधारभूत अस्पताल निर्माण र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रत्येक वर्ष पूर्ण स्वास्थ्य परीक्षण व्यवस्थालगायतका विषय प्रतिबद्धतापत्रमा समेटिएको छ ।

त्यस्तै खानेपानीतर्फ ‘बेथानचोक गाउँ स्वच्छ पानी पिउँ’ भन्ने नाराका साथ खानेपानीको बृहत सम्भाव्यता अध्ययन गरी एक घर एक धारा अवधारणामा स्वच्छ खानेपानीको व्यवस्थापन गरिने, हाल सञ्चालनमा रहेको खानेपानी उपभोक्ता समितिको क्षमता अभिवृद्धि गरिने, भूगोलका आधारमा सिँचाइ कुलो र तथा पोखरी निर्माणमा जोड दिने जनाएको छ ।

बेथानचोक गाउँपालिका–१ फुर्केथली त्रिवेणीमा स्थानीय, निजी र सरकारको लगानीमा चिया उद्योग स्थापना गर्ने, कृषिमा आधारित साना तथा घरेलु उद्योगलाई विशेष अनुदान दिइने, जडीबुटी उद्योग स्थापनालगायत विषय प्रतिबद्धतापत्रमा उल्लेख छ । पर्यटन क्षेत्रतर्फ बेथानचोक नारायणस्थान, कपेर महाँकाल मन्दिर, तिलेश्वर मन्दिर, तीनतले झरनाजस्ता पर्यटकीयस्थलको यथोचित विकासमा गुरुयोजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनप्रतिनिधिहरूको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?