जिल्ला फर्कदै मतदाता


सुरेश झा
बागमती: स्थानीय तहको निर्वाचन नजिकिएसँगै बागमती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुर जिल्ला बाहिर रहेका मतदाता मतदानका लागि आउन थालेका छन् । रोजगारी, व्यवसाय र कामको सिलसिलामा बाहिर रहेका मतदाता आउन थालेका हुन् । छिमेकी मुलुक भारत र आफ्नै देशका विभिन्न स्थानमा रहेका यस क्षेत्रका बासिन्दा मतदानका लागि आउने क्रम जारी छ । जिल्लामा एक उपमहानगरपालिका र एक नगरपालिकासहित आठ गाउँपालिका गरी १० वटा स्थानीय तह छ । नेकपा (एमाले) नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र राप्रपालगायतका राजनीतिक दलले आसन्न स्थानीय तहको निर्वाचनमा आ–आफ्नो पार्टीबाट उम्मेदवारी दिएका छन् ।

आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित १० स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ । निर्वाचनका लागि प्राविधिक काम सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । उक्त कार्यालयको सञ्चालनसँगै निर्वाचनको लागि प्रशासनिक र राजनीतिक गतिविधि बढ्दै गएको छ ।

मकवानपुरमा हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा बढी र इन्द्रसरोवर गाउँपालिकामा सबैभन्दा कम मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मकवानपुरमा दुई लाख ९४ हजार ९१९ मतदाता छन् । जसमा एक लाख ४९ हजार ९५४ पुरुष तथा एक लाख ४४ हजार ९५९ महिला र छ अन्य मतदाता रहेको बताइएको छ । जिल्लाको १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता हेटौँडा उपमहानगरभित्र रहेका छन् ।

हेटौँडामा ५० हजार ७२५ पुरुष र ५३ हजार ७४५ महिला तथा तीन जना तेस्रोलिङ्गीसहित एक लाख चार हजार ४७३ मतदाता रहेका छन् । यसैगरी सबैभन्दा कम मतदाता इन्द्रसरोवर गाउँपालिकामा रहेको छ । सो गाउँपालिकामा छ हजार ४६५ पुरुष र छ हजार छ महिला गरेर कूल १२ हजार ४७१ मतदाता रहेका छन् ।

थाहा नगरपालिकामा १६ हजार ६९९ पुरुष र १५ हजार ६०७ महिला र एक तेस्रोलिङ्गी गरी कूल ३२ हजार ३०७ मतदाता छन् । कार्यालयबाट प्राप्त विवरणअनुसार वकैया गाउँपालिकामा १५ हजार ५९३ पुरुष र १४ हजार ३४८ महिला र अन्य दुई गरी २९ हजार ९४३ मतदाता छन् । बागमती गाउँपालिकामा ११ हजार १९० पुरुष र १० हजार ८५० महिला गरी कूल २२ हजार ४० मतदाता रहेका छन् । भीमफेदी गाउँपालिकामा आठ हजार ९३५ पुरुष र आठ हजार ४९३ महिला गरी १७ हजार ४२८ कूल मतदाता रहेका छन् ।

मनहरि गाउँपालिकामा १३ हजार ७०९ पुरुष र १३ हजार १२ महिला गरी कूल २६ हजार ७२१ कूल मतदाता रहेको बुझिएको छ । त्यस्तै मकवानपरगढी गाउँपालिकामा नौ हजार ८९९ पुरुष र नौ हजार २१९ महिला गरी कूल १९ हजार ११८ मतदाता छन् । जिल्लाको विकट राक्सिराङ गाउँपालिकामा आठ हजार ७४७ पुरुष र सात हजार ८५ महिला गरी १५ हजार ८३२ मतदाता छन् भने कैलाश गाउँपालिकामा सात हजार ९९२ पुरुष र छ हजार ५९४ महिला गरेर १४ हजार ५८६ कूल मतदाता रहेका छन् ।

जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द कायम भएको छ । त्यसका लागि निर्वाचनमा चार तहको सुरक्षा संयन्त्रण र एक हजार ४७१ म्यादी प्रहरीको परिचालन गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । जिल्लामा १९ मतदानस्थल अति संवेदनशील रहेकाले त्यसको सुरक्षा प्रबन्ध मिलाइने पाण्डेले बताउनुुभयो ।

मकवानपुरमा नगरपालिका र गाउँपालिका गरी १० स्थानीय तह रहेको त्यसका लागि प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित २० पद र १०२ वडाका लागि वडाध्यक्षसहित सदस्य गरी ५१० पदको निर्वाचन हुने बताइएको छ । निर्वाचनका लागि एक हजार ७६७ कर्मचारी खटिने निर्वाचन कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?