निर्वाचनले गाउँमा चहलपहल बढ्यो


रामपुर (पाल्पा): शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि गाउँ फर्कने मतदाताको चहलपहल छ । दशैँमा जस्तै गाउँ फर्किनेको भीड देखिएको छ । अध्ययन, रोजगारीलगायत विभिन्न क्षेत्रमा काम विशेषले बाहिर रहेका मतदाता निर्वाचनलाई लक्ष्य गर्दै गाउँ फर्केका हुन् ।

स्थानीय सरकारमा सक्षम, योग्य र विकासप्रेमी नेतृत्व चयन गर्नका लागि गाउँ फर्किनेहरूमा उत्साह जागेको छ । स्थानीय सरकार जनताको नजिकको भएका र नागरिकले आफ्ना गुनासा सिधै जनप्रतिनिधिसमक्ष सुनाउन पाउने हँुदा गाउँको विकासमा तल्लीन, सक्षम, विकासशील, राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने उम्मेदवारलाई मतदान गर्न गाउँ आएको बताउनुहुन्छ, रामपुरका त्रिविक्रम थापा । उहाँ मतदानकै लागि एक हप्ताअघि काठमाडौँबाट गाउँ आउनुभएको हो ।

थापा भन्नुहुन्छ, “सक्षम, योग्य र आफूले रोजेको प्रतिनिधि चुन्ने अधिकार नागरिकलाई छ, हाम्रालाई होइन असल नेतृत्वलाई मतदान गर्नु नागरिकको कर्तव्य हो ।” अघिल्लो निर्वाचनमा कुनै राजनीतिक दललाई विकास गर्ने आशामा बसेका मतदाता यसपटक भने व्यक्ति हेरेर मतदान गर्ने पक्षमा छन् ।

काठमाडाँै, बुटवल, नारायणगढ, पोखरा, पाल्पा सदरमुकाम तानसेन, भारतलगायत विभिन्न ठाउँबाट आउने सवारी साधनमा यात्रुको चाप बढेको छ । निर्वाचनले गर्दा कतिपय सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढेपछि निजी गाडी रिजर्भ गरेर पनि गाउँ भित्रिनेहरू छन् । गाउँमा मतदान गर्न आउनेलाई राजनीतिक दलले आफू निकटका मतदातालाई काठमाडौँ, बुटवललगायत स्थानमा सवारीसाधनको व्यवस्थासमेत गर्दै आएका छन् ।

स्थानीयस्तरका जनप्रतिनिधि चुन्ने अवसर भएकाले पनि निर्वाचनका लागि उत्साहका साथ गाउँ फर्केको देखिन्छ । सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार भएकाले पनि टाढा–टाढा भएका मतदाता घर फर्किएका हुन् । संविधानले नै असल नेतृत्व चयन गर्ने अधिकार दिएको छ । कसैको प्रलोभनमा नपरी विकासप्रेमी, सक्षम, योग्य उम्मेदवारलाई मतदान गर्न गाउँ आएको बताउनुहुन्छ, स्थानीयवासी विनोद ढकाल पनि ।

चुनावका लागि गाउँ घर जानेको सङ्ख्या बढेसँगै केही दिनयता सदरमुकामसँग जोडिएका राजमार्गमा गाडीको चाप बढेको छ । छिमेकी, आफन्त र चिनेजानेका व्यक्ति उम्मेदवार हुने भएकाले पनि मतदाताले सङ्घीय र प्रदेशको निर्वाचनको तुलनामा स्थानीय तहको निर्वाचनमा बढी चासो दिएका हुन् । गाउँघरको विकासका लागि गाउँका प्रतिनिधि चयन हुने निर्वाचन भएकाले मतदान गर्न मतदाता घर फर्किएका हुन् । बाहिरबाट गाउँ फर्केका मतदाताले गाउँको विकास गर्ने उम्मेदवारलाई मतदान गर्न आएको बताएका छन् ।

दश स्थानीय तह रहेको पाल्पामा कूल एक लाख ९९ हजार ६९० मतदाता छन् । जिल्लामा स्थानीय तहको निर्वाचनका लागि २४७ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित एक हजार ९७१ कर्मचारी, एक हजार ८० म्यादी प्रहरी, ७०४ नेपाल प्रहरी, २१८ सशस्त्र प्रहरी, ४१६ नेपाली सेना खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?