बिल गेट्सलाई कोभिड सङ्क्रमण पुष्टि


वासिङ्टन, अमेरिका: माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराउनुभएको छ ।

उहाँद्वारा ट्वीटरमा जारी सन्देशमा आफूले पूर्ण मात्रा खोप लगाएको, परीक्षण र चिकित्सा उपचार लिइरहेको बताइएको छ ।

“मलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु र म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु,” उहाँले भन्नुभएको छ ।

“मैले बुस्टरसहित तीन वटै खोप लगाइसकेको छु । खोप लगाउन, परीक्षण तथा महान चिकित्सा उपचारको पहुँच पाएकोमा म आफूलाई भाग्यशाली ठानेको छु,” उहाँले ट्वीटमा भन्नुभएको छ ।

उहाँ आफ्नो बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनसँग कोभिड–१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी हुनुभएको छ । विश्वका अति धनाड्य व्यक्ति अर्बपति बिल गेट्सले ‘अर्को महामारीलाई कसरी रोक्ने’ शीर्षकमा नयाँ किताब मे को सुरुतिर प्रकाशन तथा सार्वजनिक गर्ने तयारी गरिरहनुभएको बताइएको छ । (रासस-सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?