विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रद्वारा राजीनामा


काठमाडौँ: विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । उहाँले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको निरासाजनक परिणाम आएको जनाउँदै अध्यक्ष पदबाट आज राजीनामा दिनुभएको हो ।

“विगत पाँच वर्षको समयमा तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रुपमा निःस्वार्थ र इमान्दार प्रयास गर्दागर्दै निर्वाचनमा निरासाजनक परिणाम आएकाले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा राजीनामा दिएको छु, आगामी दिनमा पार्टीको साधारण सदस्यमात्र रहिरहनेछु”, विज्ञप्तिमा भनिएको छ ।

उहाँले आफ्ना पार्टीका उम्मेदवार इमान्दार र सक्षम हुँदाहुँदै पनि राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी आफूले लिने स्पष्ट पार्नुभयो । बाराको एक स्थानीय तह र दुई वडामा आफ्नो पार्टीका उम्मेदवार विजयी हुनु उम्मेदवारकै लोकप्रियताले भएको सो पार्टीले जनाएको छ ।

अध्यक्ष मिश्रले विगत पाँच वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य आफ्नो पार्टीलाई आर्थिक, नैतिक र भौतिकरूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिनुभएको छ ।

उहाँले विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेको बताउँदै विवेकशील साझाले उठाएका प्रमुख मुद्दा सम्बोधन नगरेसम्म देशको रुपान्तरण सम्भव नहुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?