दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधिका लागि मतदान


सोल: दक्षिण कोरियामा बुधबार मतदान भइरहेको छ । स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि मतदान भइरहेको हो ।  निर्वाचनबाट नगर प्रमुखहरू, गभर्नरहरु र स्थानीय परिषद सदस्यहरू निर्वाचित हुनेछन भने सात जना सांसद पनि चयन हुनेछन् ।स्थानीय समय अनुसार बिहान ६ बजे सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन् ।

मतदानका लागि देशभरी १४ हजार ४६५ मतदान केन्द्रहरू तोकिएको पनि राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ ।  कोरोना भाइरसको महामारी फैलिइरहेको बेलामा पनि दक्षिण कोरियामा स्थानीय तथा संसदीय प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेको हो ।  कोरोना भाइरसबाट सङ्क्रमित भइ क्वारेन्टाइनमा बसेकाहरूलाई भने बेलुका ६.३० देखि ७.३० सम्म मतदानको व्यवस्था गरिएको छ ।

दिउसोमा अन्य मतदाताहरूको भिडभाड हुने भएकाले सङ्क्रमतिलाई छुट्टै समय तय गरिएको अधिकारीहरूले जनाएका छन् ।  बुधबारको मतदानबाट १७ नगरका प्रमुख र प्रान्तीय गभर्नरहरु निर्वाचित हुनेछन भने २२६ जना स्थानीय परिषद्का प्रमुखहरू छनौट हुनेछन ।

त्यसैगरी नगरपरिषद् सदस्य र प्रान्तीय परिषद् सदस्य ८२४ जना र स्थानीय परिषद् सदस्य दुई हजार ९२७ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि यसअघि गत शुक्रबार र शनिबार पनि मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?