सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ


नेपालगञ्ज  :  बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो ।

फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्म दिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत सात जनाले सामूहिक बलात्कार गरेकोे प्रहरीले जनाएको छ । किशोरीलाई सुरुमा बाँके–बर्दियाको सिमाना मानखोलाको जङ्गल र त्यसपछि वैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको बताइएको छ ।
मानखोलाको जङ्गलमा पाँच जना र टहरामा लगेर दुई जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले हेमराज, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँटाभट्टा नजिक शङ्कास्पदरूपमा भे३प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई पुरुषले मोटरसाइकलको बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटना बाहिर आएको हो ।
यसैबीच नेपाल प्रहरीले काठमाडौँको लैनचौरमा एक व्यक्तिलाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीवृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं २६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिक खाजा घरमा पोखराका ४० वर्षीय एक व्यक्तिको साथबाट रु ३५ लाख लुटपाट गर्ने नुवाकोट घर भई बूढानीलकण्ठ बस्ने २५ वर्षीय पेम्बा तामाङ र दाङ घर भई काठमाडौँको मालिगाउँ बस्ने ३४ वर्षीय शालिकराम नेपालीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पीडितलाई विभिन्न प्रलोभनमा पारेर खाजा घरमा बोलाएर लुटपाटमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग प्रहरीले मोबाइल एक थान, घडी एक थान र फलामको रड बरामद गरेको छ ।
पक्राउ परेका तामाङ र नेपालीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार डाँका, चोरीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो । लुटपाट घटनामा संलग्न फरार अन्य व्यक्तिको पहिचान खुलिसकेकाले उनीहरुलाई पनि चाँडो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?