ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई आफ्नै पार्टीबाट विश्वासको मत प्राप्त


लन्डन: ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँका विरुद्धमा आफ्नो कन्जर्भेटिभ पार्टीमा विश्वास नरहेको भन्दै केही सांसदले विश्वासको मत लिनुपर्ने भनी प्रस्ताव दर्ता गराएका थिए ।

उहाँप्रति विश्वास छ भने विश्वासको मतको पक्षमा यहाँका २११ जना सांसदले मत दिएका छन् । उहाँको दलका सांसदहरु ३५९ जनामध्ये २११ जनाले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

यो सँगै अब उहाँ एक वर्षका लागि सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ । हिजोको मतदानमा उहाँको विपक्षमा १४८ जना सांसदले मत दिएका थिए । प्रधानमान्त्री जोनसनले विश्वास मत प्राप्त गरेपछि आफूलाई नतिजा राम्रो लागेको बताउनुभएको छ । उहाँले सो नतिजालाई निर्णायक भन्नुभएको छ । उहाँले उक्त नतिजा आफ्ना लागि धेरै राम्रो भएको बताउनुभएको थियो ।

यो नतिजासँगै उहाँ अब प्रधानमन्त्री पदबाट हट्नु नपर्ने भएको छ । उता आलोचकहरूले भने उहाँका विरुद्धमा पार्टीभित्रैबाट एक प्रकारको विद्रोह भएको बताएका छन् र यसले आगामी दिनमा उहाँका अधिकारहरुमा पनि कटौती हुनसक्ने बताएका छन् ।

आफ्नो पार्टीबाट अविश्वासको प्रस्ताव आएपछि उहाँलाई कतिपयले राजीनामा दिन पनि आह्वान गनु भएको छ । (रासस-सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?