महिला टी–ट्वान्टी क्रिकेट : नेपाल विश्वकप छनोटबाट बाहिरियो


काठमाडौँ  : आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।

मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो । जितका लागि ९० रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो । नेपालकी सृष्टि जैशीले २१ बलमा ७ तथा साना प्रविनले २१ बलमा ६ रन बनाइन् ।
यस्तै अनु कडायतले ५, अञ्जली विश्वकर्मा, कृतिका मरासिनी र मनिषाकुमारी उपाध्यायले तीन÷तीन तथा रञ्जु श्रेष्ठ र स्नेहा महराले एक एक रन बनाए । बलिङतर्फ थाइल्यान्डकी नथिता बुनसुखमले ३ विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुएर ८९ रन जोड्यो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन । यस्तैैैैै बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रनको योगदान दिइन ।
बलिङतर्फ नेपालकी मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले दुई÷दुई तथा स्नेहा महराले एक विकेट लिइन् । यसअघि नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । विभिन्न ६ राष्ट्र सहभागी उक्त प्रतियोगितामा शीर्षस्थान हासिल गर्ने टोली यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । नेपालले बिहीबार अन्तिम खेल आयोजक मलेसियासँग खेल्नेछ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?