सुरक्षाकर्मीको गोली लागेर बर्दियामा एक जनाको मृत्यु


काठमाडौँ : सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले बर्दियामा वन्यजन्तु आतङ्क सिर्जना भएको र सोको नियन्त्रण तथा प्रभावितका लागि न्यायोचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन गर्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर आज एक जनाको मृत्यु भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घले आज विज्ञप्ति जारी गरी वन्यजन्तुको आक्रमण र प्रहरीको गोलीबाट घाइते हुनेको शीघ्र स्वास्थ्यलाभको कामनासहित मृतक नवीना चौधरीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

अध्यक्ष भारती पाठकले वन्यजन्तु आतङ्क प्रभावित र आन्दोलनरत सामुदायिक वन उपभोक्ता समूहसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न, वन्यजन्तुको आक्रमणबाट घाइते भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति र रोजगारको व्यवस्था गर्न, आन्दोलनमा प्रहरीले चलाइएको गोली लागी मृत्यु भएकी नवीना चौधरीको परिवार र घाइते भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति र रोजगारीको व्यवस्था गर्न तथा घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग गर्नुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?