सवारी दुर्घटनामा दुईको मृत्यु, भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो


जलेश्वर: बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्घटनामा मोटरसाइलकको पछाडि सवार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–३ बस्ने २६ वर्षीय सूर्यकुमार मिस्त्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक सोही गाउँठाउँ बस्ने २५ वर्षीय निरज मिस्त्री गम्भीर घाइते भएका छन् ।

गए राति दुवै जना सवार भएर सिन्धुलीबाट सर्लाहीको लागि आउँदै गरेको ना५४प ८९५४ नम्बरको मोटरसाइकल बर्दिबास नपा–३ स्थित भोगटे पुलमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सूर्यको मृत्यु भएको छ भने निरज गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैलाई प्रहरीले उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालमा ल्याएकोमा सूर्यको उपचारको क्रममा मृत्यु भएको थियो । गम्भीर घाइते निरजको उपचार अझै पनि सोही अस्पतालमा भइरहेको छ भने सूर्यको शव पनि सोही अस्पतालमा रहेको जनाइएको छ ।

बसको ठक्करले सहचालकको मृत्यु
यसैबीच पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ । आज बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट भारतको सिलगीतर्फ जाँदा गरेको बा५ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो । दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो
यसैबीच  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो ।

मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । कार भने नदीमा पुगेको छ । “कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ”, उहाँले भन्नुभयो, “कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।” उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताउनुभयो । घटनास्थलमा नेपाली सेनाको टोली जाँदैछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?