मन्त्री कार्की र खाणको भनाइ ः अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट


काठमाडौँ, २ असार  । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त राज्य अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) सम्बन्धमा सरकारका तर्फबाट कुनै निर्णय नभएको स्पष्ट पार्नुभएको छ ।
विनियोजन विधयेक, २०७९ अन्तर्गत रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट आज जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री कार्कीले प्रधानमन्त्रीका तर्फबाट आजै गृहमन्त्री बालकृष्ण खाणले पनि एसपिपीका बारेमा स्पष्ट पारिसक्नुभएको उल्लेख गर्दै एसपिपीबारेमा हालसम्म कुनै निर्णय नभएको र नहुनेबारेमा समेत सदनलाई स्पष्ट पार्नुभयो । उहाँले एसपिपी र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी फरक–फरक विषय भएकोसमेत बताउनुभयो । सांसदहरुले केही समयअघि नेपाल भ्रमणका बेला अमेरिकी उपमन्त्री उज्रा जियाले तिब्बती शरणार्थी शिविरमा भ्रमण गरेको भन्ने सांसदको जिज्ञासामा मन्त्री कार्कीले सोबारेमा स्पष्ट पार्दै नेपाल सरकार कुनै पनि छिमेकी र मित्र राष्ट्रको अहित हुने कुरामा सजग र संवेशनशील रहेको बताउनुभयो ।

सरकार मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता, भौगोलिक अखण्डताको रक्षा गरी आर्थिक समृद्धि अभिवृद्धि गर्ने दिशामा अग्रसर रहेको उल्लेख गर्दै उहाँले यसमा सबैको सहयोगको अपेक्षा गर्नुभयो । प्रधानमन्त्री स्वयंले नै सदनमा उभिएर जवाफ दिनुपर्ने सांसदको मागमा मन्त्री कार्कीले प्रधानमन्त्रीको व्यस्तताका कारण संविधान र नियमबमोजिम उहाँका तर्फबाट आफूले सदनमा जवाफ दिएको स्पष्ट पार्दै प्रधानमन्त्रीले मुलुकका लागि के–के भूमिका निर्वाह गर्नुपर्दछ भन्ने कुरा पनि सांसदहरूलाई हेक्का हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“पाँचदलीय सत्तागठबन्धनको लक्ष्य मुलुकलाई समृद्धितर्फ अग्रसर गराउन रहेको बताउँदै विकास र सुशासनमार्फत मुलुकलाई समुन्नतितर्फ अग्रसर गराउन चाहन्छौँ”, उहाँले भन्नभयो ।

यसैबीच सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ । नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट पार्नुभयो । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाणले भन्नुभयो, “एसपिपी कार्यक्रममा नेपाल आवद्ध भएको छैन, यससम्बन्धी कुनै निर्णय गरेको छैन, निर्णय गर्ने सोच राखेको पनि छैन, यसमा सुस्पष्ट रुपमा प्रतिबद्धता राख्न चाहन्छु ।”

नेपालको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको विषयमा संविधानमा व्यवस्था भएअनुसार नेपाल सरकारले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । नेपाल र अमेरिकाबीच पहिलेदेखि नै सद्भावना भ्रमण जारी रहेको र दैनिक सहयोग आदानप्रदान भइरहेको तथा यसअघिका भ्रमण र सहयोग विगतको निरन्तरता रहेको उहाँले आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको रक्षामन्त्रालयका तर्फबाट जवाफ दिने क्रममा बताउनुभयो । सांसदहरुले सोधेका पुरक प्रश्नको जवाफमा गृहमन्त्री खाणले एमसिसी सम्झौता सहमतीमै पास भएको र एसपिपीमा नेपालको कुनै संलग्नता नरहेको दोहोर्याउनुभयो ।

उहाँले एमसिसी कुनै सैन्य परियोजना नभई विकास परियोजना भएको भन्ने सोचका साथ नै अघि बढाइएको र पछि व्याख्यात्मक टिप्पणीका साथ पास भएको स्पष्ट पार्नुभयो । “एसपिपीमा हामी संलग्न हुँदैहुँदैनौ भनिरहेका छौँ, हिजो एमसिसीमा पनि जे बोल्यौँ त्यही गर्यौँ, आज पनि जे बोल्छौँ त्यही गछौँ”, गृहमन्त्री खाँणले थप प्रष्ट्याउँदै भन्नुभयो, “यो स्टेट पाटनरसिप प्रोग्राममा नेपाल संलग्न हुँदैन हुँदैन हुँदैन ।” प्रधानमन्त्रीको अमेरिका भ्रमण सुनिश्चित भएको छैन गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको कार्यक्रम अहिलेसम्म सुनिश्चित नभएको सदनमा जानकारी गराउनुभयो । सांसदहरुले भ्रमणको विषय स्पष्ट पार्नुपर्ने माग राखेपछि उहाँले भ्रमणका विषयमा जवाफ दिँदै कार्यतालिका बनेपछि सदनलाई जानकारी हुने स्पष्ट पार्नुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?