चालीस टेकेका राजकुमार विलियम राजकीय भूमिका सक्रिय हुँदै


लण्डन,  ७  असार   :   गोरो कपाल भएका स्कूले केटाबाट जुझारू विमान चालकको परिचय बनाएका राजकुमार विलियम आज ४० औँ वसन्तमा प्रवेश गरेका छन् । चालीसौँ वर्षमा प्रवेश गरिरहँदा उनको राजकीय भूमिका पनि क्रमशः बढ्दै गएको छ । विमान चालक तीन छोराछोरीका पिता उनलाई विश्वले नजिकबाट नियाली रहेको छ । राजपरिवारमा आफ्नो बढ्दो केन्द्रीय भूमिकालाई ग्रहण गर्दै उनी सिंहासनमा बस्ने अन्तिम तयारी गरिरहेका छन् । दुई साताअघि आफ्नी हजुरआमा महारानी एलिजाबेथ द्वितीयले सत्ताको बागडोर सम्हालेको ७० औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष साङ्गीतिक समारोहमा केन्द्रीय पात्रका रूपमा प्रस्तुत भएर उनले आफ्नी हजुरआमाले वातावरण संरक्षणका निम्ति निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसामात्र गरेनन् अपितु जलवायु परिवर्तनमा कार्य गर्न सबैलाई आह्वान गरे । राजकुमार विलियमले बोलिरहँदा पृष्ठभूमिमा वन्यजन्तु, महासागर र जङ्गलका दृश्यहरू देखाइएका थिए । ती दृश्यतर्फ सङ्केत गर्दै उनले जलवायु परिवर्तनका दुष्प्रभाव रोक्न तथा मानवजातिको वासस्थान पृथ्वीको संरक्षण गर्न आह्वान गरेका थिए । भावी पुस्तका निम्ति त्यसो गर्नु अपरिहार्य भएको उनको अभिमत थियो ।

 

ढल्कदो उमेर र स्वास्थ्य समस्याका कारण ९६ वर्षीया महारानीले राजगद्दीको उत्तराधिारी आफ्नो छोरा राजकुमार चाल्र्सलाई बिस्तारै थप जिम्मेवारी सुम्पन थालेकी छन् । यसले चाल्र्सको जेठो छोरा विलियमलाई राजकाजका काममा सक्रिय हुन र नेतृत्वदायी भूमिका निर्वाह गर्न अवसर प्रदान गरेको छ । राजकुमार विलियम उनकी पत्नी केट मिडलटनसँगै मानसिक स्वास्थ्यबारे खुलारूपमा बहस हुनुपर्ने तथा घरबारविहीनताको अन्त्य हुनुपर्ने बहसपैरवीको काम गर्ने समर्थक संस्थाहरूसँग मिलेर काम गरिरहेका छन् । राजकुमार विलियम र उनकी अर्धाङ्गिनीका सामाजिक गतिविधिले छापाहरूमा राम्रो स्थान पाएका छन् भने ती पत्रिकाको बिक्री पनि बढेको छ । समाधान गर्न सकिने समस्यालाई निराकरण गर्न आफू लागिरहने प्रतिबद्धता उनले पत्रिकामा व्यक्त गरेका छन् । “अब म ४० वर्षको हुँदैछु र विगतमा धेरै काम गर्ने मेरो योजना छ,” जलवायु परिवर्तनका मुद्दा र मानसिक स्वास्थ्यसम्बन्धी समस्या समाधानमा आफ्नो स्थानबाट अझ धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजकुमारले भनेका छन् । बेलायतको राजसिंहासनका उत्तराधिकारी उनले युवराज चाल्र्स र युवराज्ञी डायनको ज्येष्ठपुत्रका रूमा जन्मनै वित्तिकै सुनिश्चित गरेका हुन् । २१ जुन १९८२ मा युवराज चाल्र्स र युवराज्ञी डायनले उनलाई लण्डनको सेन्ट मेरी अस्पतालको लिन्डो इकाइ बाहिरबाट टिभी क्यामरासमक्ष प्रस्तुत गरेदेखि नै सार्वजनि नजरमा पारिएको छ ।

 

विश्वले विलियमलाई लन्डनमा उनको स्कूल दिनदेखि स्कटल्याण्डको सेन्ट एन्ड्रयूज विश्वविद्यालयमा केट मिडलटनसँगको प्रेम सम्बन्ध र वेस्टमिन्स्टर गिर्जाघरमा उनीहरूको शानदार विवाह देखेको छ । रोयल मिलिटरी एकेडेमीबाट स्नातक गरेपछि फेरि क्यामेराको अगाडि परेका विलियम त्यसपछि सेना, नौसेना र रोयल एयर फोर्समा सेनाको सक्रिय कर्तव्य निर्वाहमा व्यस्त रहे । राजपरिवारको सदस्यका रूपमा निर्वाह गर्नुपर्ने पूर्णकालीन कर्तव्यमा समाहित हुनुभन्दा पाँच वर्षअघि एयर एम्बुलेन्सको चालक बने । मानसिक स्वास्थ्यदेखि वातावरणसम्मका परोपकारी संस्थाहरूसँगको संलग्नका कारण उनी कस्ता राजा हुन्छन् भन्ने सङ्केत बेलायतीहरूले पाएका छन् । बेलायती राजसंस्था अझै पनि राज्यको प्रमुखको रूपमा रहेका बेलीज, जमैका र बहामासको गत मार्चमा महारानीको प्रतिनिधि बनेर विलियम र केटले गरेको आठ दिने भ्रमणले पनि राजकुमार विलियमको भविष्यतर्फ स्पष्ट सङ्केत गरेको छ । राजसिंहासनको रोलक्रममा युवराज चाल्र्सपछि विलियम छन् भन्नेमा बेलायती नागरिक ढुक्क छन् ।  (रासस÷एपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?