रुसले लिसिचान्स्कमा ’विपत्तिजनक विनाश’ मच्चाइरहेको छः युक्रेन


कीभ, युक्रेन,  ७  असार ।  युक्रेनले रुसले डोनबास क्षेत्रको पूर्वी औद्योगिक शहर लिसिचान्स्कमा भारी गोलाबारी गरिरहेको बताएको छ । सो क्षेत्र कीभको सेना र मस्कोका सेनाहरू बीच गत हप्तादेखि भीषण लडाइँको केन्द्र बनेको छ। “सेभेरोडोनेत्स्क औद्योगिक क्षेत्रमा लडाइँ र लिसिचान्स्कमा विनाशकारी विनाश,“ लुगान्स्क क्षेत्रीय गभर्नर सर्गी गैडेले सामाजिक सञ्जालमा विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले लेखेका छन् लिसिचान्स्कले अघिल्लो दिनदेखि भारी रूसी आक्रमणबाट पीडित भएको छ । र गैडेले भने कि सोमबार दिनभर जारी रहेको “भारी गोलाबारी“ मा एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ र दस आवासीय ब्लक र एक प्रहरी चौकी ध्वस्त भएको छ। “हामी पीडितहरूको अन्तिम संख्या निर्धारण गर्दैछौं, किनकि हिजो शहर भित्र सुरक्षित रूपमा जान लगभग असम्भव थियो,“ उनले भने।
युद्ध हुनु पूर्व करिब १ लाख जनसङ्ख्या भएको लिसिचान्स्क सेभेरोडोनेत्स्कको छेउमा छ जहाँ रुसी र युक्रेनी सेनाहरू शहरको नियन्त्रणको लागि भीषण लडाइँ लडिरहेका छन्। गभर्नर गैडेले सेभेरोडोनेत्स्कको एजोट केमिकल प्लान्टमा “भयङ्कर लडाइँ“ जारी रहेको बताए जहाँ सयौं नागरिकले आश्रय लिएको विश्वास गरिएको छ । उनले भने– रूसी सेनालाई जुन २६ सम्म सम्पूर्ण लुगान्स्क क्षेत्र कब्जा गर्ने जिम्मेवारी दिइएको छ तर तिनीहरूले यसलाई पाँच दिनमा नियन्त्रण सक्दैनन् ।
यसैबीच रुसी समाचार आउटलेट नोभाया गजेटाका प्रधान सम्पादक दिमित्री मुराटोभको स्वामित्वमा रहेको नोबेल शान्ति पुरस्कार पदक संयुक्त राज्य अमेरिकामा बिक्री गरिएको छ । सो पदक लिलामी प्रक्रियाद्वारा १०३.५ मिलियन अमेरिकी डलर ( हेरिटेज अक्सन) मा बिक्री भएको हो । लिलामी शुरु हुनु अघि मुराटोभले उठाएको सबै पैसा पोल्याण्ड, रुस, जर्मनी, मोल्डोभा, स्लोभेनिया, चेक रिपब्लिक र हङ्गेरीलगायत देशहरूमा रहेका युक्रेनी शरणार्थीहरूलाई सहयोग गर्न युनिसेफलाई दिइने बताएका छन् ।
मुराटोभले २०२१ मा सो पदक जितेका थिए। दिमित्री मुराटोभ र मारिया रेसाले सन् २०२१ को नोबेल शान्ति पुरस्कारका संयुक्त रूपमा पाएका थिए। अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने उनीहरूको प्रयासको लागि सो पुरस्कार दिइएको थियो । युद्धबाट विस्थापित युक्रेनका बालबालिकालाई सहयोग गर्ने अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्दै उनले सो सहयोगको घोषणा गरेका हुन् । युक्रेनी शरणार्थी सङ्कटको पूर्ण दायरा मापन गर्न गाह्रो छ र दोस्रो विश्वयुद्धपछि युरोपमा अन्य कुनै पनि शरणार्थी सङ्कट भन्दा यो सङ्कट धेरै पेचिलो छ। मे २४ सम्म संयुक्त राष्ट्रसंघको अनुमान अनुसार ६६ लाख शरणार्थीले युक्रेन छोडेका छन्।
करिब ३५ लाखभन्दा बढी पोल्याण्ड, लगभग १० लाखभन्दा बढी रोमानिया, र १० लाख शरणार्थी रुसतर्फ भागेका छन् । यसै बीच हङ्गेरी, मोल्डोभा र स्लोभाकियाले शरणार्थीहरूलाई समायोजन गर्न सङ्घर्ष गरिरहेका छन् । “संयुक्त राष्ट्रसंघले कम्तीमा दुई दर्जन भन्दा बढी देशहरूमा १०,००० भन्दा बढी शरणार्थीहरू रहेको बताएको छ। त्यस्तै लाखौं मानिसहरू युक्रेन भित्रै विस्थापित भएका छन् । सबैलाई खाना, आश्रय र अन्य आधारभूत आवश्यकताहरू चाहिएको छ । अझै १ करोड ४० लाख मानिसहरूले त सुरक्षित आश्रयस्थल खोजिरहेका छन् । -रासस–एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?