आज पाँच सय भारतीय पर्यटक जनकपुरधाम आउँदै


जनकपुर: भारतीय रेलबाट एकै पटक पाँच सय धार्मिक पर्यटक आज जनपुरधाम आउदै छ । निजी खर्चमा ४९९ धार्मिक पर्यटक बोकेको भारतीय रेल गत मङ्गलबार साँझ ७ बजे दिल्लीबाट प्रस्थान गरेसँगै आज जनकपुर आइपुग्ने भएको हो ।

रामायण सर्किटसँग सम्बन्धित धार्मिक स्थलको दर्शन गर्दै पर्यटक बोकेको रेलसहित आज जनकपुरधाम दिउँसो १ः४५ बजे आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जनकुमार झाले जानकारी दिनुभयो । रेलमा आउने सबैजना धार्मिक पर्यटक नै रहेको उहाँले पर्यटकहरु आफ्नै हिसाबले होटल, लज, धर्मशालालगायत आवासको व्यवस्थापन मिलाएको बताउनुभयो ।

महाप्रबन्धक झाका अनुसार, रामायण सर्किटसँग सम्बन्धित अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी (नासिक), हम्पी, रामेश्वरम् र भद्राचलमजस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरधामस्थित धार्मिक क्षेत्रलाई जोडिएको छ । रेल पर्यटक ओरालेर तुरुन्तै फर्किने उहाँले बताउनुभयो ।

भारतीय धार्मिक पर्यटकहरुलाई जनकपुरधाम रेल्वे स्टेशनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा वनमन्त्री शत्रुघन महतो, जनपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, जानकी मन्दिरका उतराधिकारी महन्त रामरोसन दास वैष्णवलगायतले यहाँको धार्मिक महत्व झल्किने अंकित गम्छा, मालाले स्वागत गरिने तयारी गरिएको जनाएको छ ।

भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ अन्तर्राष्ट्रिय सीमा पार गरी समग्ररूपमा पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले आउन लागेको रेलको प्रत्येक बोगीमा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरुपी झल्किने गरी सजाएको भारतीय बाणिज्य दुतावासका बाणिज्य दूत नीतेश कुमार जानकारी दिनुभयो ।

यसरी आउनु हुने पर्यटकहरु आफ्नै खर्चमा जनकपुरधामस्थित जानकी मन्दिर, गंगा आरती, संकटमोचनलगायत धार्मिक स्थलहरुको दर्शन गरी जलेश्वरको जलेश्वरनाथ महादेवको दर्शनपश्चात् सीतामढी हुँदै फर्किने कार्यक्रम तय रहेको महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?