हरिशयनी एकादशीको अवसरमा घरघरमा कीटनाशक तुलसी रोपियो


काठमाडौँ,  २६  असार  :  तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घर–घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ ।
आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका प्रा डा चन्द्रराज सापकोटा वैज्ञानिक र औषधीय गुणलेयुक्त भएकैले हाम्रा पिता पूर्खाले घर–घरमा यसको मठ बनाएर पूजा आराधनाको रीत बसालेको बताउनुहुन्छ । औषधीय गुणलेयुक्त तुलसीबाट आफू सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएका बेला २०५५ सालमा चिया उत्पादन गरेको उहाँले सुनाउनुभयो । “तुलसीको चियाले मानव शरीरभित्रका कीटाणु नाश गरी स्वस्था बनाउने भएकाले दैनिक सेवन गर्नु फलदायी हुन्छ, कोरोना महामारी तीव्र भएका बेला तुलसी, सुठो, पिप्ला, मरिच, त्रिकटुलाई काँडा पानी बनाएर पिउँदा कोरोना ठीक भएको छ”–प्रा डा सापकोटाले भन्नुभयो ।
हाम्रा वनस्पति र खाद्यान्न स्वास्थ्यसँग सम्बन्धित छन् । अमृतासमेत भनिने गुर्जो धेरै रोगका लागि लाभदायक रहेको उहाँ बताउनुहुन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशयनी एकादशीका अवसरमा आज राष्ट्रपति भवनको निजी निवास परिसरमा पूजा अर्चनासहित तुलसीको बिरूवा राप्नुभएको छ । आजको दिन तुलसीको बिरुवा रोपी व्रत बस्नाले समाज, परिवार एवं स्वयंमा सुख, शान्ति तथा आरोग्य प्राप्ति हुने जनविश्वास छ । हिन्दू धर्म परम्परामा हरिशयनी एकादशीका दिनदेखि चतुर्मास व्रत प्रारम्भ भई ईश्वर उपासनाको महत्वपूर्ण समय सुरु भएको मानिन्छ ।
औषधीय गुणलेयुक्त तुलसीलाई स्वास्थ्यका दृष्टिले लाभदायी जडिबुटी मानिएकाले घरैमा तुलसीका बिरुवा हुर्काइ प्रत्यक्ष फाइदा लिन सकिन्छ । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीको उपचारमा तुलसी, घरेलु औषधिका रूपमा उपयोग गर्ने गरिन्छ । यसप्रकार परापूर्वकालदेखि नै हरिशयनी एकादशीको धार्मिक तथा स्वास्थ्यसँग सम्बन्धित पक्षको विशेष महत्व रहेको पाइन्छ ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?