भारत सरकारको सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा विद्यालय भवन तथा छात्रावास उद्घाटन


काठमाडौं: काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव श्री प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति, डोटीका प्रमुख श्री लक्ष्मण बहादुर सिंहले संयुक्त रुपमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावासको उद्घाटन गर्नुभयो ।
शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग नेरु. ९६.९ लाखको लागतमा यस परियोजनाको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।
६५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत यो विद्यालय डोटी जिल्लाकै एक प्रतिष्ठित विद्यालय हो । यस नवनिर्मित पूर्वाधारले विद्यालयमा सिकाईका लागि उपयुक्त वातावरणको सिर्जना गर्नेछ ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये डोटी जिल्लाका ३ गरी सुदूरपश्चिम प्रदेशमा ३४ वटा रहेका छन् ।
भारत र नेपालबीच बहुपक्षीय एवम् बलियो विकास साझेदारी रहिआएको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यस विद्यालय परियोजनाको कार्यान्वयनले शिक्षा लगायत प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार निर्माण गर्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?